ई-आर्थिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रलाई थप पारदर्शी, व्यवस्थित र वित्तीय अनुशासनमा आधारित बनाउन नयाँ निर्देशिका जारी गरेको छ।
प्राधिकरणले सार्वजनिक गरेको ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ अनुसार, अब बीमकहरूले पुनर्बीमा, रेट्रोशेसन र विदेशबाट लिइने परामर्श सेवाहरूको भुक्तानी गर्नुअघि प्राधिकरणको सिफारिस प्राप्त गर्नुपर्नेछ।
निर्देशनमा उल्लेख गरिएअनुसार बीमकहरूले विदेशी बीमक, पुनर्बीमक, विदेशी लगानीकर्ता वा बीमा सेवा प्रदायक संस्थाहरूलाई भुक्तानी गर्नुअघि प्राधिकरणको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ। साथै, यस्ता कारोबार गर्दा नेपाल राष्ट्र बैंकका निर्देशिका र विदेशी लगानीसम्बन्धी प्रचलित कानुनको पूर्ण पालना गर्नुपर्नेछ।
पुनर्बीमा शुल्क भुक्तानीका लागि विदेशी मुद्रा सटहीको माग गर्दा बीमकले ट्रिटि, रेट्रोशेसन वा फ्याकल्टेटिभ पुनर्बीमासम्बन्धी कागजातहरू पेस गर्नुपर्ने प्रावधान छ। यसैगरी, विदेशी बीमक वा ब्रोकरलाई बीमा दाबी भुक्तानी गर्दा पनि यथोचित विवरण र कागजात संलग्न गर्नुपर्नेछ।
निर्देशनमा विदेशी सर्भेयर, क्रेडिट रेटिङ संस्थाहरू, विशेषज्ञ वा तेस्रो पक्ष सहजकर्ताहरूलाई हुने भुक्तानीका लागि पनि संबन्धित कागजातहरू पेस गर्नुपर्ने उल्लेख छ।
पुनर्बीमा वा रेट्रोशेसन सटही सिफारिस गर्दा मात्र प्राधिकरणले तोकेको रेटिङ भएका पुनर्बीमकहरूमाथि सिफारिस गर्ने व्यवस्था गरिएको छ। साथै, बीमकहरूले पेश गरेका कागजात र प्राधिकरणको स्वीकृतिपत्र कम्तीमा पाँच वर्षसम्म सुरक्षित राख्नुपर्नेछ भने प्रत्येक चौमास पछि १५ दिनभित्र भुक्तानी विवरण तोकिएको ढाँचामा पेश गर्नुपर्नेछ।
बीमा प्राधिकरणको विश्वास छ कि यो नयाँ व्यवस्था मार्फत बीमा व्यवसायमा विदेशी भुक्तानी प्रक्रिया थप स्पष्ट, नियमनयुक्त र उत्तरदायी बन्नेछ।