२०८३ असोज ५ सोमबार

भदौ ३० देखि सहुलियत मूल्य पसल सञ्चालन हुँदै, चाडपर्वका लागि खाद्य वस्तु सस्तोमा उपलब्ध गराइने

ई आर्थिक    मंगलबार, भाद्र १७ २०८२
2K
Shares
भदौ ३० देखि सहुलियत मूल्य पसल सञ्चालन हुँदै, चाडपर्वका लागि खाद्य वस्तु सस्तोमा उपलब्ध गराइने

ई-आर्थिक, काठमाडौं ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार भदौ ३० गतेदेखि चाडपर्व लक्षित गरी देशभर सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत आवश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउने योजना मन्त्रालयले सार्वजनिक गरेको छ।

मन्त्रालयको आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार सहुलियत मूल्य पसल सञ्चालनका लागि सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ। खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने पसलमा चामल, दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइनेछ भने चिउरा, आटा, पिठो, मैदामा सात रुपैयाँ छुट पाइनेछ। खानेतेलमा पनि प्रतिलिटर सात रुपैयाँ छुट उपलब्ध हुनेछ।

कर्णालीका रैथाने उत्पादनहरू जुम्ली मार्सी चामल, कागुनो, चिनो, सिमी, उवा र तितेफापरमा प्रतिकिलो १० रुपैयाँ छुट दिइनेछ। जिरा, धनिया, चियापत्ती तथा जिउँदो खसी, बोका र च्याङ्ग्राको मूल्यमा पनि प्रतिकिलो १० रुपैयाँ छुट उपलब्ध गराइने मन्त्रालयले जनाएको छ। खाद्य व्यवस्था कम्पनीले ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौं उपत्यकामा १५ स्थानमा सहुलियत मूल्य पसल र तीनवटा घुम्ती पसल सञ्चालन गर्नेछ। उपत्यकाबाहेकका जिल्लाहरूमा पनि साल्ट ट्रेडिङले नुन, चिनी, तेल, चिउरा, दाल, पिठो र मैदामा छुट दिनेछ। नुनमा प्रतिकिलो दुई रुपैयाँ, चिनीमा पाँच रुपैयाँ, तेलमा प्रतिलिटर सात रुपैयाँ र अन्य सामानमा सात रुपैयाँ छुट प्रदान गरिनेछ।

सरकारले चाडपर्वको समयमा उपभोक्तालाई सस्तो र गुणस्तरीय वस्तु उपलब्ध गराउन तथा बजारमा निजी क्षेत्रको एकाधिकार रोक्न सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij