२०८३ साउन ११ सोमबार

कर्णाली राजमार्ग अवरुद्ध, १३ करोड रुपैयाँ बराबरको स्याउ कुहिने जोखिम

ई आर्थिक    मंगलबार, भाद्र १७ २०८२
1K
Shares
कर्णाली राजमार्ग अवरुद्ध, १३ करोड रुपैयाँ बराबरको स्याउ कुहिने जोखिम

ई-आर्थिक, कालीकोट ।  कर्णाली राजमार्ग तीन दिनदेखि अवरुद्ध हुँदा जुम्लाबाट देशका विभिन्न स्थानतर्फ पठाइएको स्याउको व्यापार प्रभावित भएको छ। कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा खसेको पहिरोका कारण राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

राजमार्ग अवरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज, काठमाडौंलगायत ठाउँमा गइरहेका दर्जनौं मालवाहक ट्रक बाटोमै थन्किएका छन्। लामो समयदेखि बाटोमा अलपत्र परेका व्यापारी र यात्रीहरूलाई स्याउ कुहिने र आर्थिक क्षति हुने चिन्ता थपिएको छ।

जुम्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार, अवरुद्ध सडकमा २३ वटा ट्रकमा १८४ मेट्रिकटन स्याउ अड्किएको छ। यो स्याउको बजार मूल्य करीब १३ करोड रुपैयाँ बराबर रहेको छ। “समयमै गन्तव्यमा पुर्‍याउन नसके स्याउ कुहिने खतरा बढेको छ,” अधिकारीले भने।

यात्री बालाराम नेपालीले पहिरो पन्छाएर राजमार्ग खुलाउनेतर्फ सरकारको पर्याप्त ध्यान नपुगेको गुनासो गरे। स्थानीय किसानहरू र व्यापारीहरूले सम्बन्धित निकायसँग सडक तत्काल खुलाउन आग्रह गरेका छन्।

जुम्ला सडक डिभिजन कार्यालयका प्रमुख दीपेन्द्र चौधरीले गगने खोलामा खसेका ठूला ढुंगा फुटाउन कठिन भइरहेको जानकारी दिए। “नेपाली सेनाको टोली मान्मबाट घटनास्थलतर्फ पठाइएको छ,” उनले भने, “लगातारको वर्षाका कारण काममा थप अवरोध पुगेको छ।”

कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरीसहितको टोली पहिरो स्थलमा पुगेको बताए।

सडक खुलाउने प्रयास जारी रहेको जनाइएको छ, तर अझै ठोस प्रगति नहुँदा व्यापारी र किसानहरूमा निराशा बढेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij