ई-आर्थिक, काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पद पूर्तिका लागि खुला प्रतिस्पर्धाबाट नियुक्ति प्रक्रिया सुरु गरिएको छ। अर्थ मन्त्रालयले सिफारिस समिति गठन गरी उक्त पदका लागि योग्य नेपाली नागरिकबाट ७ दिनभित्र आवेदन पेश गर्न सूचना प्रकाशित गरेको हो।
प्राधिकरणको अध्यक्ष पदका लागि उम्मेदवारले बीमा, बैंकिङ, अर्थशास्त्र, व्यवस्थापन, जनप्रशासन, कानून लगायतका क्षेत्रमध्ये कुनै एकमा स्नातकोत्तर तह उतीर्ण हुनुका साथै कम्तीमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव भएको हुनुपर्नेछ।
साथै, उम्मेदवार ३० वर्ष उमेर पूरा भएको र ६५ वर्ष ननाघेको, उच्च नैतिक चरित्र भएको र प्रचलित कानुनअनुसार अयोग्य नठहरिने हुनुपर्ने शर्त राखिएको छ।
आवेदन पेश गर्दा तोकिएको व्यावसायिक कार्ययोजना, स्वप्रमाणित कागजातहरू, र पासपोर्ट साइजका फोटोसहित खामबन्दी गरी पेश गर्नुपर्नेछ। दस्तुर बापतको रु. ७,५०० राजस्व बैंकमा भुक्तानी गरिएको भौचर समेत संलग्न गर्नुपर्ने व्यवस्था छ।
अध्यक्ष पदमा नियुक्त व्यक्तिले पाउने तलब, भत्ता तथा सेवा सुविधा सम्बन्धी व्यवस्था तोकिएअनुसार हुनेछ। विस्तृत विवरण अर्थ मन्त्रालयको वेबसाइट www.mof.gov.np मा उपलब्ध छ।
अर्थ मन्त्रालयले आवेदन झुटो पाइएमा रद्द गरिने र कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ।
