ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज थप ५५ अर्ब तरलता खिच्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै आइतबार ५५ अर्ब खिच्ने भएको हो । केन्द्रीय बैंकले २१ दिने अवधिका लागि खिच्न लागेको जनाएको हो । यसका लागि बैंकले मध्यान्ह ३ बजे अनलाइन बोलकबोल गर्न सकिने जनाएको छ
चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापनका लागि वित्तीय प्रणालीबाट ३ खर्ब ७८ अर्ब १० करोड तरलता प्रशोचन गरिसकेको छ ।
केन्द्रीय बैंककले बजारबाट भदौ ११ गते ४५ अर्ब, भदौ ४ गते ३० अर्ब भदौ १ गते ६० अर्ब, साउन २८ गते २५ अर्ब साउन २१ गते ४० अर्ब, साउन १८ गते ५० अर्ब, साउन १४ गते २५ अर्ब, साउन ११ गते ५० अर्ब तथा साउन ७ गते ८० अर्ब खिचेको थियो । साथै साउन ४ गते ५० अर्ब तानेको थियो ।
२१ दिन अवधिको निक्षेप संकलन उपकरणको २०८२ असोज ५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले बताएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न पाउने छन्।
उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् ।
निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । बोलकबोलबाट यसको ब्याज निर्धारण हुनेछ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले जनाएको छ ।