रेसुङ्गा, गुल्मी : गुल्मीको तम्घासस्थित प्रधान कार्यालय रहेको मैत्री बहुउद्देश्यीय सहकारी संस्था ले स्थापना भएको २४ वर्षमा बहुआयामिक प्रगति गर्दै आर्थिक र सामाजिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
२०५७ साल भदौ २७ गते पाँच गाविसका ३३ जना शेयर सदस्य मिलेर स्थापना गरिएको यो सहकारीको शेयर सदस्य संख्या हाल १३ हजार ७९१ पुगेको छ। सुरुमा जम्मा १३,२०० रुपैयाँको शेयर पुँजी रहेको संस्थाको शेयर पुँजी हाल १२ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ पुगेको छ भने कुल संस्थागत पुँजी ८९ करोड ८८ लाख २३ हजार ६२३ रुपैयाँ रहेको अध्यक्ष शंकर प्रसाद गौतमले जानकारी दिनुभयो।
डेरी उद्योगदेखि इलेक्ट्रोनिक सवारीसम्मको यात्रा
सहकारीले आर्थिक वर्ष २०५९/०६० मा डेरी उद्योग सुरु गरेको थियो भने २०६४/०६५ मा लघुवित्त कार्यक्रम सञ्चालनमा ल्याएको थियो। पछिल्ला दुई वर्षमा इलेक्ट्रोनिक सवारी सञ्चालन गर्ने तहसम्मको प्रगति गरेको सहकारीले हाल ‘मैत्री यातायात प्रालि’ मार्फत जिल्लाका विभिन्न स्थानहरूबाट बुटवलसम्म सवारी सेवा दिँदै आएको छ। अब चाँडै तम्घास–काठमाण्डौं सवारी सेवा सुरु गर्ने योजना समेत बनाइएको छ।
सेवा विस्तार र सामाजिक उत्तरदायित्व
गुल्मीका साथै अर्घाखाँची, रुपन्देही, र कपिलवस्तुमा कार्यक्षेत्र विस्तार गरेको संस्थाले एक करोड ७९ लाख रुपैयाँ लागतमा आफ्नै भवन निर्माण गरेको छ। १९ पुरुष र १९ महिला गरी ३८ जना कर्मचारीमार्फत सेवा दिइँदैछ।
संस्थाले वित्तीय साक्षरता, कृषि उपजजन्य सुपथ मूल्य पसल, बचत तथा ऋण सेवा, नेतृत्व विकास लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
साथै, मैत्री यातायात, चौराहा अस्पताल, मेडिटेक अस्पताल र हाम्रो डाक्टर्स क्लिनिक मा शेयर सदस्यलाई १० देखि १०० प्रतिशतसम्म छुट सुविधा पनि प्रदान गरिएको छ।
सामाजिक सुरक्षाका विविध पहल
गत आर्थिक वर्षमा संस्थाले
-
४२ जना सुत्केरी महिला सदस्यलाई प्रतिव्यक्ति १,५०० रुपैयाँ,
-
७ जनालाई जीवन आवास सुविधाअन्तर्गत जनही ५०,००० रुपैयाँ,
-
मृतक शेयर सदस्यका परिवारलाई जनही ५,००० रुपैयाँ,
-
सदस्यका श्रीमानको मृत्युमा ३९ जनालाई जनही ५,००० रुपैयाँ,
-
घर क्षतिको हकमा ८ जनालाई जनही ३,००० रुपैयाँ,
-
पसल/गोठ क्षतिका लागि ६ जनालाई जनही २,००० रुपैयाँ सहायता उपलब्ध गराएको सचिव हरिप्रसाद पोख्रेलले जानकारी दिनुभयो।
त्यस्तै १२ जनालाई ऋण सुरक्षा सुविधा प्रदान गरिएको छ।
उत्कृष्ट सदस्य तथा केन्द्रको सम्मान
साधारण सभामा
-
खुसीयाली, राधाकृष्ण, र उज्यालो महिला केन्द्रलाई उत्कृष्ट केन्द्रको रुपमा,
-
टोपलाल अर्याललाई उत्कृष्ट शेयर सदस्य,
-
राम बहादुर टोमटालाई व्यापार क्षेत्रतर्फ,
-
यज्ञ प्रसाद पन्थीलाई नियमित बचतकर्ता,
-
र किभा अर्याललाई बालबचत तर्फ पुरस्कृत गरिएको थियो।
शुभकामना मन्तव्य र प्रतिवेदन
२४ औं साधारण सभाको उद्घाटन लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले गर्नुभएको थियो। उहाँले सहकारीहरूलाई एउटै दृष्टिकोणले नहेर्न आग्रह गर्दै संघीय संरचनाअनुसार सहकारीहरूलाई नियमन गर्न संघ र प्रदेशले आवश्यक कानुन निर्माण गरिरहेको जानकारी दिनुभयो।
सभामा जिल्ला सहकारी संघका अध्यक्ष यम बहादुर थापासहित विभिन्न सहकारी प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा व्यवस्थापकद्धारा प्रतिवेदन, सह-कोषाध्यक्ष सरिता सुनारले आगामी कार्ययोजना र लेखा तथा सुपरीवेक्षण समितिका सदस्य विष्णु प्रसाद ज्ञवालीले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।