ई-आर्थिक, काठमाडौं । बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल सहभागी छन्। बीमा ऐन अनुसार सम्बन्धित क्षेत्र हेर्ने योजना आयोगको सदस्यको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ, जसमा अर्थसचिव र एकजना विज्ञ सदस्य रहने उल्लेख गरिएको छ।
समितिले अध्यक्ष पदका लागि तीन जनाको नाम सिफारिस गर्नेछ र सोही सूचीबाट मन्त्रिपरिषद्ले एकजनालाई नियुक्त गर्नेछ।
यसअघि प्राधिकरणका अध्यक्ष रहेका शरद ओझालाई सरकारले कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पदबाट हटाएको थियो। नियुक्तिको करिब छ महिनामै ओझालाई हटाइएपछि अर्थ मन्त्रालयले नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढाएको हो।
सरकारको निर्णयपछि बीमा प्राधिकरणमा नेतृत्वको रिक्तता टुंग्याउन समिति सक्रिय रुपमा काममा लागेको बताइएको छ।