ई-आर्थिक, भोजपुर । बाँदरको सतायो र सिँचाइको समस्या बढेपछि भोजपुरका किसान बिस्तारै वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन्। यसै सन्दर्भमा टेम्केमैयुङ गाउँपालिका–८ स्थित गोगने सल्लेनीका शम्भु नेपालले ४२ रोपनी बारीमा ड्रागनफ्रुट खेती गरेर उल्लेख्य आम्दानी गर्न थालेका छन्।
नेपालले दानाबोट फलफूल तथा कृषि फार्म दर्ता गरी कृषि व्यवसाय सुरु गरेका हुन्। उनका अनुसार दुई वर्षमै प्रतिफल दिने ड्रागनफ्रुट खेतीबाट वार्षिक १२ देखि १४ लाख रुपैयाँ आम्दानी भइरहेको छ। यद्यपि बजार व्यवस्थापन भने चुनौतीपूर्ण रहेको उनले बताए।
बाली भित्र्याउन नदिने बाँदरका कारण परम्परागत खेती गर्न छाडेको किसान हरि गौतमले बताए। अब बाँदरले नखाने फलफूल र नगदेबाली, जस्तै ड्रागनफ्रुट, कागती, टिम्मुर, र मेकाडियानटप्रति किसानको आकर्षण बढ्दै गएको उनको भनाइ छ।
“देशमै बसेर आफ्नो जमिनमा मेहनत गरे वैदेशिक रोजगारीजस्तै कमाइ गर्न सकिन्छ,” गौतमले भने। उनले बाँझो जमिन उपयोग गर्न तीनै तहका सरकारबाट विशेष कार्यक्रम ल्याइनुपर्नेमा जोड दिए।