काठमाडौं : सर्वसाधारणका लागि खुलेको स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक शेयर (आईपीओ) को बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले बिहीबार बिहान आईपीओ बाँडफाँट गरेको हो।
साउन ३० गतेदेखि सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको यस आईपीओमा २४ लाख ४० हजार ४६० जनाले आवेदन दिएका थिए। तीमध्ये २४ लाख ३६ हजार ३९३ जनाको आवेदन स्वीकृत भएको थियो।
तर, उपलब्ध कित्ता सीमित भएकाले स्वीकृत आवेदकमध्ये केवल १९ हजार ५१९ जनालाई मात्रै शेयर प्राप्त भएको छ।
प्रत्येकले १० कित्ता शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता प्राप्त गरेका छन्। यस अनुसार, कुल स्वीकृत आवेदकमध्ये ०.८० प्रतिशतले मात्र आईपीओ हात पार्न सफल भएका हुन् भने ९९.२० प्रतिशत लगानीकर्ताको हात रित्तो भएको छ।
आईपीओ बाँडफाँटको नतिजा केहीबेरमै iporesult.cdsc.com.np मा सार्वजनिक गरिने नबिल इन्भेस्टमेन्टले जनाएको छ।
कम्पनीको अवस्था
स्वस्तिक लघुवित्तको मुख्य कार्यालय सिरहाको लहानमा रहेको छ। यो संस्था प्रदेश स्तरको लघुवित्त हो।
गत चैत मसान्तसम्म कम्पनीको
-
प्रति शेयर नेटवर्थ: रु १९१.४०
-
प्रति शेयर आम्दानी (EPS): रु ७.३३
रहेको छ।
कम्पनीले ३ करोड १६ लाख रुपैयाँ सञ्चित नाफा कमाएको छ।
इक्रा नेपालबाट कम्पनीले ‘B’ रेटिङ प्राप्त गरेको छ, जसले औसत जोखिमयुक्त स्थिति दर्शाउँछ।