क्यानडा र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं, भदौ १० –
क्यानडा र क्रोएसिया पठाइदिने बहानामा ठूलो रकम ठगी गरेको अभियोगमा २ जना व्यक्ति प्रहरीको फन्दामा परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई सोमबार पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वर बस्ने २४ वर्षीय सुरेश नाथ र बुढानीलकण्ठ नगरपालिका–१३ बस्ने ४३ वर्षीय धन बहादुर राई रहेका छन्। सुरेश नाथले क्यानडा पठाइदिने भन्दै २ जना पीडितबाट १७ लाख १ हजार रुपैयाँ लिएको उजुरी परेको थियो भने धन बहादुर राईले क्रोएसिया पठाइदिने भन्दै १ जना पीडितसँग १३ लाख ५० हजार रुपैयाँ लिएका थिए।
उनीहरू रकम लिएको केही समयपछि सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा खटिएको प्रहरी टोलीले सुरेशलाई नयाँ बसपार्क र धन बहादुरलाई बुढानीलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सचेत रहन नागरिकलाई आग्रह गर्दै यस्ता प्रलोभन दिने व्यक्तिबाट सावधानी अपनाउन चेतावनी दिएको छ।