२०८३ साउन ११ सोमबार

भियतनामी उपराष्ट्रपतिसँग राष्ट्रपति पौडेलको भेट, द्विपक्षीय सहकार्यमा चासो

ई आर्थिक    सोमबार, भाद्र ९ २०८२
3.1K
Shares
भियतनामी उपराष्ट्रपतिसँग राष्ट्रपति पौडेलको भेट, द्विपक्षीय सहकार्यमा चासो

ई-आर्थिक, काठमाडौं ।  नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति वो थि आन्ह सुआनले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा दुवै पक्षले नेपाल–भियतनाम सम्बन्ध अझ प्रगाढ बनाउने विषयमा छलफल गरेका थिए। राष्ट्रपति पौडेलले नेपाल र भियतनामबीच व्यापार, पर्यटन, लगानी र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्यका विशाल सम्भावना रहेको बताउँदै त्यसलाई द्विपक्षीय सहयोगमार्फत तीव्रता दिने सरकारको इच्छाशक्ति रहेको स्पष्ट गर्नुभयो।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले नेपाल हाल कृषि, पर्यटन, उत्पादन र जलविद्युत् जस्ता क्षेत्रमा लगानीमार्फत आर्थिक र सामाजिक रूपान्तरणमा केन्द्रित रहेको जानकारी गराउनुभएको थियो। साथै, भियतनामले विश्वको गतिशील अर्थतन्त्रका रूपमा गरेको प्रगति सराहनीय रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले बौद्ध धर्मलाई दुवै देशबीचको सांस्कृतिक सम्बन्धको आधारका रूपमा उल्लेख गर्दै लुम्बिनीलाई भियतनामी जनताले पवित्र स्थलको रूपमा ग्रहण गर्नु सुखद विषय भएको बताउनुभयो।

भियतनामी उपराष्ट्रपति सुआनले नेपालले सन् २०३० सम्ममा मध्यम आय समूहको देश बन्ने लक्ष्य राखेको सन्दर्भमा, नेपाल–भियतनामबीचको सम्बन्धलाई अझै संस्थागत र व्यापक बनाउने फ्रेमवर्क तय गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले संस्कृति, खेलकुद र पर्यटनका क्षेत्रमा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै, अन्तर्राष्ट्रिय मञ्चमा नेपालको शान्तिका लागि अग्रसरता र जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता प्रति प्रशंसा व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij