ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंक गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।
आर्थिक वर्ष २०८१/ ८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो ।
केन्द्रीय बैंकका अनुसार वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो ।
शोधनान्तर स्थिति रु.५९४ अर्ब ५४ करोडलेबचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु.५०२ अर्ब ४९ करोडले बचतमा रहेको थियो।
गत आर्थिक वर्षमा आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेकोछ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको केन्द्रीय बैंकको तथ्यांकले देखाउछ ।
विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १९.२ प्रतिशतले र अमेरिकी डलरमा १६.३ प्रतिशतले बढेको छ । २०८२ असार महिनाको विप्रेषण आप्रवाह रु.१८९ अर्ब ११ करोड रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड पुगेको छ । उक्त सञ्चिति १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो ।
बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १२.६ प्रतिशतले वृद्धि भई रु.७२ खर्ब ६४ अर्ब पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ८.४ प्रतिशतले वृद्धि भई रु.५४ खर्ब ९८ अर्ब पुगेको छ ।