चितवन : बागमती प्रदेशअन्तर्गत रहेको रत्ननगरको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले बालबालिकाको स्वास्थ्य सुदृढ बनाउने उद्देश्यसहित विगत दुई वर्षदेखि स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गर्दै आएको छ। चिकित्सालयका अनुसार हाल मासिक औसतमा ५०० बालबालिकाले यो आयुर्वेदिक औषधि सेवन गर्दै आएका छन्।
चिकित्सालय प्रमुख डा. कोपिला अधिकारीका अनुसार स्वर्णबिन्दु एक प्रकारको आयुर्वेदिक औषधीय मिश्रण हो, जसमा स्वर्ण भस्म, घ्यू, मह लगायतका जडीबुटी मिसाएर तयार गरिन्छ। यो औषधि विशेषगरी पुष्य नक्षत्रको दिन बालबालिकालाई खुवाइन्छ, जुन आयुर्वेदिक मान्यताअनुसार अत्यन्त प्रभावकारी मानिन्छ।
रोग प्रतिरोधात्मक क्षमता वृद्धि
डा. अधिकारीका अनुसार विभिन्न अध्ययनहरूले देखाएका छन् कि स्वर्णबिन्दु सेवन गरेका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता (इम्युन सिस्टम) बलियो देखिएको छ। उनीहरूले अन्य बच्चाहरूको तुलनामा अस्पतालको सेवा कम उपयोग गर्नुपर्ने, सामान्य रोग कम लाग्ने जस्ता सकारात्मक असर देखिएको चिकित्सकको दाबी छ।
तर, उनले रुघा, ज्वरो वा पखालाजस्ता लक्षण देखिएका बालबालिकालाई भने स्वर्णबिन्दु नखुवाउन अनुरोध गरेकी छन्। मुख्यतः ६ महिनादेखि ५ वर्षसम्मका बालबालिका लक्षित यो कार्यक्रममा सहभागी हुँदै आएका छन्।
बौद्धिक र शारीरिक विकासमा प्रभावकारी
चिकित्सालयका बालरोग विशेषज्ञ डा. शुसान्त भण्डारीका अनुसार स्वर्णबिन्दु प्राशनले बालबालिकाको बौद्धिक र शारीरिक विकासमा सकारात्मक असर पुर्याएको देखिएको छ। नियमित सेवन गर्ने बालबालिकाको मानसिक क्षमता (तिक्ष्णता) र स्मरण शक्ति समेत राम्रो हुने तथ्य अध्ययनमा देखिएको उनी बताउँछन्।
राष्ट्रव्यापी कार्यक्रमको सुरुवात
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालैबाट स्वर्णबिन्दु प्राशन कार्यक्रमलाई राष्ट्रव्यापी रूपमा विस्तार गर्ने निर्णय गरेको छ। मन्त्रालयले देशभरका २१ वटा आयुर्वेद चिकित्सालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूबाट बिहीबारदेखि कार्यक्रम सुरु गरेको जनाएको छ।
रत्ननगर चिकित्सालयले भने केन्द्रको घोषणा हुनुभन्दा करिब दुई वर्षअघि नै आफ्नै निर्देशिका तयार गरी कार्यक्रम लागू गरिसकेको थियो।
बालबालिकाको समग्र स्वास्थ्य र भविष्यमा लगानीका रूपमा लिइएको यो कार्यक्रमबारे आम अभिभावकहरूमा उत्साहजनक प्रतिक्रिया देखा परेको चिकित्सालयले जनाएको छ।