ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको रकम लगानी गर्ने बजारमा २ अर्ब ७७ करोड ६७ लाख प्रवाह गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २ अर्ब ७७ करोड ६७ लाख लगानी गर्ने भएको हो ।
केन्द्रीय बैंकले विभिन्न कोषको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको सूचनामार्फत जानकारी दिएको छ ।
केन्द्रीय बैंकले कुल रकममध्ये क वर्गको वाणिज्य बैंकमा २अर्ब २२ करोड १४ लाख रुपैयाँ लगानी गर्ने छ भने ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ४१ करोड ६५ लाख रुपैयाँ लगानी गरिने सूचनामा उल्लेख गरेको छ । साथै ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १३ करोड ८८ रुपैयाँ निक्षेप लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकको सूचना अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको हो ।
सूचना अनुसार बैंक तथा वित्तीय संस्थाले भदौ ०८ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ। यो मुद्दति निक्षेप २०२५ सेप्टेम्बर ११ देखि २०२६ सेप्टेम्बर ११ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
केन्द्रीय बैंकले साउन १२ गते २ अर्ब ९२ करोड ५३ लाख लगानी गर्न आह्वान गरेको थियो ।
साथै, साउन ११ गते केन्द्रीय बैंकले बजारमा १ अर्ब लगानी गर्न आह्वान गरेको छ । गत असार ३२ गतेपनि केन्द्रीय बैंकले बैंक तथा वित्तिय क्षेत्रहरुमा राष्ट्र बैंकले ५७ करोड लगानी गर्ने आह्वान गरेको थियो ।
राष्ट्र बैंकको पैसा मुद्दती निक्षेपमा राख्नका लागि तोकिएका सर्तहरू भने बैंक तथा वित्तीय संस्थाले पालना गर्नु पर्नेछ ।
जसअनुसार सम्बन्धित संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्ने, न्यूनतम पुँजी कोष अनुपात कायम रहेको,निष्क्रिय कर्जा कुल सापटीको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको, कर्जा निक्षेप (सीडी) अनुपात तोकिएको सीमाभित्र रहेको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ ।
