वासिङ्टन । अमेरिकी वाणिज्य विभागले स्टिल र एलुमिनियम समावेश भएका थप ४०७ प्रकारका वस्तुहरूमा ५० प्रतिशत आयात शुल्क लगाउने निर्णय सार्वजनिक गरेको छ। मंगलबार घोषणा गरिएको यो निर्णय अन्तर्गत ‘सेक्सन २३२’ को दायरालाई विस्तार गरिएको हो, जसले मोबाइल, क्रेन, बुलडोजर, रेलका डब्बा, फर्निचर, कम्प्रेसर, पम्प लगायत सयौं उत्पादनहरू समेट्नेछ।
नयाँ शुल्क तुरुन्त लागू गरिएकाले भन्सार एजेन्ट तथा आयातकर्ताहरू तयारी गर्न नपाई प्रभावित भएका छन्।
अमेरिकी वाणिज्य विभागका उद्योग तथा सुरक्षा उपसचिव जेफ्री केसलरका अनुसार, “आजको कदमले स्टिल र एलुमिनियम शुल्कको कार्यक्षेत्र विस्तार गर्दै सम्भावित दुरुपयोग रोक्ने र अमेरिकी उद्योगहरूलाई मजबुत बनाउने लक्ष्य राखेको छ।”
सरकारले प्रभावित वस्तुहरूको सूची भन्सार कोडमार्फत मात्र उपलब्ध गराएकाले सर्वसाधारणलाई स्पष्ट रूपमा बुझ्न केही कठिन हुने जनाइएको छ।
यसअघि, जुलाईको अन्त्यमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तामा (कपर) आधारित वस्तुहरूमा पनि ५० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका थिए, जुन यस वर्षको अगस्ट १ देखि लागू भइसकेको छ।
विशेषज्ञहरूका अनुसार यस्ता क्षेत्र–विशेष शुल्कले निर्माण, अटोमोबाइल, र इलेक्ट्रोनिक्स उद्योगमा लागत बढाउने जोखिम छ। सीएनएनको विश्लेषण अनुसार, शुल्क वृद्धिले आपूर्ति श्रृंखलामा समेत असर पार्न सक्ने देखिएको छ।