ई-आर्थिक, काठमाडौं । मलेसियाली अटो ब्रान्ड प्रोटोन र नेपालको अधिकृत वितरक जगदम्बा मोटर्सले संयुक्त रूपमा मलेसियामा निर्मित आफ्नो पहिलो विद्युतीय गाडी प्रोटोन इमास ७ नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत डा. ली चुनरोङको उपस्थितिमा गाडी सार्वजनिक गरिएको हो।
यो ऐतिहासिक लोन्चले नेपालमा प्रोटोन ब्रान्डको विद्युतीय सवारी भविष्यप्रति दीर्घकालीन प्रतिबद्धता दर्शाउँछ। २०१८ नोभेम्बरदेखि सुरु भएको साझेदारीले नेपाललाई प्रोटोनको लागि एक रणनीतिक बजारको रूपमा स्थापित गर्दै आएको छ।
प्रोटोन इमास ७ प्रोटोन र चीनको गीलीबीचको सहकार्यमा निर्माण गरिएको हो, जसले विश्वस्तरीय प्रविधि र क्षेत्रीय आवश्यकताको संयोजन प्रस्तुत गर्छ। यो मोडेल मलेसियाको सर्वाधिक बिक्री हुने इभी बनेको छ र सी-सेग्मेन्ट इभी एसयूभीको रूपमा शीर्ष स्थानमा रहेको छ।
प्रोटोन इन्टरनेशनल कर्पोरेशन Sdn Bhd का CEO एडमन्ड लिम मेङ थोङका अनुसार, “नेपालमा गाडी भित्र्याउने कामले हाम्रो दीर्घकालीन साझेदारीको सफलताको पुष्टि गर्छ। हामी पूर्ण रूपमा प्रोटोन ब्रान्ड र प्रोटोन इमास ७ मा केन्द्रित छौं। हालसम्म गीलीले नेपालमा कुनै आधिकारिक वितरक नियुक्त गरेको छैन।”
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, “यो साझेदारी केवल व्यापारिक नभई नेपालमा दिगो यातायात प्रवर्द्धन गर्ने साझा दृष्टिकोण हो। प्रोटोन इमास ७ र हाम्रो बिस्तार हुँदै गएको सेवा सञ्जालले नेपाली ग्राहकका लागि इभीलाई अझ भरपर्दो र पहुँचयोग्य बनाउनेछ।”
प्रोटोन र जगदम्बा मोटर्सले नेपालको हरित यातायात यात्रालाई तीव्रता दिँदै, इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा नवप्रवर्तन, विश्वास र उत्कृष्टताका साथ अग्रणी भूमिका निर्वाह गर्ने लक्ष्य लिएका छन्।