२०८३ साउन ११ सोमबार

१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण ठेक्का सम्झौता सम्पन्न

ई आर्थिक    मंगलबार, साउन २७ २०८२
4K
Shares
१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण ठेक्का सम्झौता सम्पन्न

ई-आर्थिक, काठमाडौं । डोल्पामा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि ठेक्का सम्झौता सम्पन्न भएको छ। सोमबार आयोजना निर्माणको जिम्मा जियाङसी कन्स्ट्रक्सन इन्जिनियरिङ (ग्रुप) कर्पोरेसन लिमिटेड र एनके कन्स्ट्रक्सन कम्पनी प्रालिको संयुक्त संस्था जेसीई/एनकेजेई जेभी लाई दिइएको हो।

जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना निर्माणका लागि आह्वान गरेको ठेक्का प्रक्रियामा चार कम्पनी सहभागी भएका थिए। तीमध्ये जेसीई/एनकेजेई जेभी निर्माणको ठेक्का  पाएको हो  । उक्त कम्पनीले  १३ अर्ब ७३ करोड रुपैयाँ (भ्याटसहित) मा निर्माण गर्न सहमति जनाएकाो थियो । आयोजना निर्माण गर्दा जेसीई/एनकेजेई जेभी सबैभन्दा सस्तो प्रस्तावदाताका रूपमा छनोट भएको हो ।

कुल अनुमानित लागत २३ अर्ब रुपैयाँ रहेको आयोजना निर्माणका लागि १६ अर्ब ऋण र ७ अर्ब स्वपुँजीबाट लगानी जुटाइनेछ। नबिल बैंकको नेतृत्वमा वित्तीय संयोजन गरिएको छ। मुख्य लगानीकर्ता संस्थाहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (४ अर्ब ७० करोड), नबिल बैंक (४ अर्ब), एचआईडीसीएल (४ अर्ब), लक्ष्मी सनराइज बैंक (२ अर्ब), र एभरेष्ट बैंक (१ अर्ब ५० करोड) रहेका छन्।

विद्युत उत्पादन कम्पनीले आयोजना निर्माणमा २६ प्रतिशत संस्थापक सेयर लगानी गर्नेछ। अन्य लगानीकर्ता संस्थाहरूमा एचआईडीसीएल (१०%), नेपाल विद्युत प्राधिकरण (९%), कर्णाली प्रदेश सरकार, जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिकाले समान १–१ प्रतिशत सेयर प्राप्त गर्नेछन्। बाँकी सेयरमध्ये ३३ प्रतिशत स्थानीय नागरिक, १० प्रतिशत डोल्पावासी, र ३–३ प्रतिशत आयोजनाका कर्मचारी तथा प्रसारण लाइन प्रभावित बासिन्दाका लागि छुट्याइएको छ।

आयोजनाले ७८९ मिटर ग्रसहेड रहनेछ भने २३ मिटर अग्लो र ९३ मिटर लामो बाँध निर्माण गरिनेछ। ६.१ किलोमिटर लामो सुरुङ मार्फत पानी ल्याइ वार्षिक ६२३ गिगावाट–घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ।

स्थानीय सरकार, निजी क्षेत्र र संघीय निकायको संयुक्त लगानीमा अघि बढाइएको आयोजनालाई पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। जेसीई/एनकेजेई जेभीले अनुमानित लागतभन्दा झन्डै १० प्रतिशत कम मूल्यमा प्रस्ताव दिएकाले ठेक्का प्रक्रिया प्रतिस्पर्धात्मक मानिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij