ई-आर्थिक, बैतडी । लगातारको वर्षाले बैतडीका अधिकांश ग्रामीण कच्ची सडकहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालनमा समस्या बढ्नुका साथै यात्रुहरू जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्।
जिल्लाका प्रमुख सडकहरू— सतबाँझ–सुर्नया, श्रीभावर–हाट, देहीमाडौँ–गिरेगडा, सिल्लेगडा–कटौजपानी, मेलौली–पञ्चेश्वर, पाटन–सकार–कैलपाल, धर्मघर–सनशेरीमाडौँ, देहीमाडौँ–दुर्गाभवानी र देहीमाडौँ–सुरकाल सडकखण्ड वर्षाको कारण भत्किएर आवतजावत बन्दजस्तै भएको छ।
सवारी चालक शेरसिंह कार्कीका अनुसार, कच्ची सडकहरू स्तरोन्नति नहुँदा बर्सातको समयमा पहिरो र हिलाम्मे सडकका कारण गाडी चलाउन अत्यन्तै जोखिम हुन्छ। “जुनसुकै बेला गाडी सडकबाट चिप्लन सक्छ,” उनले भने, “बर्षेनी एउटै अवस्था दोहोरिन्छ।”
सिगास गाउँपालिका लगायतका अन्य ग्रामीण क्षेत्रमा पनि सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध हुँदा स्थानीयहरू महँगो भाडा तिरेर यात्रा गर्न बाध्य भएका छन्। जोखिम मोलेर सवारी चलाइरहेका चालकहरूले असजिलो र क्षति हुने सम्भावना बढेको गुनासो गरेका छन्।
यातायात व्यवसायीहरू पनि जोखिम बढेका कारण भाडा बढाउनुपरेको बताउँछन्। अर्का जिपचालक नरेन्द्र कुँवर भन्छन्, “सडक हिलाम्मे भएकाले दुर्घटनाको डर हुन्छ, यात्रु बोकेर यात्रा गर्नु जोखिम मोल्नु हो।”
दोगडाकेदार–१ रिमका स्थानीय हरिस साउँदले सडक बन्द हुँदा दैनिक उपभोग्य सामग्री बोकेर ल्याउनुपर्ने बाध्यता रहेको बताए। “अस्पताल जानुपर्ने बेला हिँडेरै जानुपर्छ, सामान बोक्नुपर्ने अवस्था पनि आउँछ,” उनले भने।
प्रत्येक वर्ष बर्खाको समयमा सडक अवरुद्ध हुने समस्या दोहोरिरहँदा स्थायी समाधानका लागि सडक स्तरोन्नतिको माग तीव्र रूपमा उठ्दै आएको छ। यद्यपि, सम्बन्धित निकायबाट ठोस पहल हुन नसक्दा समस्या जस्ताको त्यस्तै रहेको स्थानीयहरूको गुनासो छ।