ई-आर्थिक, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थमन्त्री विष्णु पौडेलले सम्बन्धित सचिवहरूलाई स्पष्ट कार्ययोजना र समय तालिका निर्माण गर्न निर्देशन दिएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा मन्त्री पौडेलले वार्षिक योजना बजेटअनुसार तयार पार्न र त्यसलाई समयमै लागू गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “सही समयमा उचित कदम चालेर बजेट कार्यान्वयनमा परिणाम देखिने गरी अगाडि बढ्नुपर्छ।” उनले कार्यान्वयनको क्रममा अर्थ मन्त्रालयबाट आवश्यक सहयोग पुर्याइने आश्वासनसमेत दिए।
गैरकर राजस्वमा अधिकतम उपयोगको निर्देशन
अर्थमन्त्री पौडेलले गैरकर राजस्वका स्रोतहरूको अधिकतम उपयोग र विस्तारमा जोड दिएका छन्। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल एक खर्ब २८ अर्ब रुपैयाँ गैरकर राजस्व संकलन गरिएको थियो, जुन कूल राजस्वको १०.९ प्रतिशत मात्र हो।
यसलाई अझ वृद्धि गर्न कानुनी सीमाभित्र रही सम्भाव्य स्रोतहरू पहिचान गरेर कार्यान्वयनमा लैजानुपर्नेमा बैठकमा विशेष छलफल भएको थियो।
बैठकमा अर्थ सचिव, राजस्व सचिवसहित मन्त्रालयका अन्य उच्च पदस्थ सचिव र अधिकारीहरूको उपस्थिति थियो। मन्त्री पौडेलको निजी सचिवालयका अनुसार, सरकारले आगामी वर्षको बजेटलाई परिणाममुखी बनाउन कार्यान्वयनमै प्राथमिकता दिने रणनीति बनाएको छ।
स्पष्ट योजना र कार्यान्वयन तालिकाले समग्र बजेटको प्रभावकारिता र गति दुवैमा सुधार ल्याउने विश्वास व्यक्त गरिएको छ।