अमेरिकासँग व्यापार सम्झौता गर्ने अगस्ट १ तारिखको समयसीमा सकिएपछि राष्ट्रपति ट्रम्पले ९० भन्दा बढी देशका सामानहरूमा नयाँ कर लगाउने घोषणा गरेका छन्।
“करमा अमेरिकाको अडान के हुन्छ त्यसमा निर्भर गर्छ। अमेरिकाले लिइरहेको पोजिसनमा अन्य देशसँग सम्झौता भयो भने मूल्य माथि जाँदैन, तर ट्यारिफ वार मत्थर भएन भने सुनको मूल्य अझै बढ्ने देखिन्छ,” राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक थापाले भने।
मूल्य किन बढेकोबढ्यै ?
विगत एक वर्षमा सुनको भाउमा प्रतितोला करिब ५० हजार रुपैयाँले वृद्धि भएको देखिन्छ।
गत वर्ष साउन २० गते सुनको मूल्य १ लाख ४९ हजार ७०० रुपैयाँ रहेको थियो भने यो वर्ष साउन २० गते १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ।
अहिलेकै अवस्थामा अब छिटै नै यो मूल्य दुई लाख पुग्ने देखिएको व्यवसायीहरू बताउँछन्।
केही अपवादबाहेक निरन्तर मूल्यवृद्धि हुनुमा अन्तर्राष्ट्रिय घटनाक्रम र अमेरिकाले विभिन्न देशहरूमा लगाएको करहरूजस्ता कारण रहेका व्यवसायी तथा विज्ञहरू बताउँछन्।
अन्तर्राष्ट्रिय घटनाक्रममा रुस युक्रेन युद्ध सुरु भएदेखि नै सुनको मूल्यमा असर पर्न थालेको र पछिल्लो पटकको इजरेल-हमास र इजरेल-इरानको द्वन्द्व पनि कारण रहेको उनीहरूले बताए।
त्यसबाहेक अमेरिकी केन्द्रीय बैङ्कले ब्याजदर घटाएको र नेपाली मुद्रा डलरको तुलनामा कमजोर बन्दै गएका कारण पनि गत एक वर्षमा सुनको मूल्य बढ्दै गएको महासङ्घका उपाध्यक्ष बज्राचार्यले बताए।
“अमेरिकाले ०.२५ गर्दै गर्दै ०.७५ ब्याजदर घटाएको कारणले पनि सुनमा अलि बढेको हो र नेपाली मुद्रा पनि मजबुत नभएका कारण पनि भाउ बढेको हो,” उनले भने।
नेपाली मुद्रा भारतीय मुद्रासँग जोडिएको र पछिल्ला दिनमा भारतीय मुद्रा स्फीति पनि खस्किएपछि त्यसले नेपाली मुद्रा पनि कमजोर भएको र त्यसले सुनको भाउ बढेको उनले बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले भारतलाई रुसबाट तेल खरिद नगर्न अन्यथा कर लगाउने चेतावनी दिएपछि पछिल्लो समय त्यसको असर भारतको अर्थतन्त्रमा परेको बताइन्छ।
रुस युक्रेन युद्धपछि रुसबाट तेल खरिद गर्नेमा भारत एउटा मुख्य खरिदकर्ता देश हो।
ट्रम्पको त्यस्तो भनाइलाई भारतले “अन्यायपूर्ण र अनुचित” भनी प्रतिक्रिया दिएको छ।
खुसी हुने कि दुःखी हुने ?
सुरक्षित लगानीका रूपमा मानिसहरूले सुन किनेर राख्ने भए पनि सुनको भाउ बढ्दा कसैका लागि पनि खुसी हुनुपर्ने कारण नरहेको विज्ञहरू बताउँछन्।
“सुनचाँदीमा लगानी हुनु आर्थिक विकासको हिसाबले कतै पनि राम्रो मान्न सकिन्न। यो सट्टेबाजी लगानी भएका कारण सुनको मूल्य झर्न सक्छ। त्यसैले लगानीकर्ता, व्यवसायी, नितिनिर्माता वा निक्षेपकर्ता कसैका लागि सुनको भाउ बढ्नु पनि राम्रो होइन,” राष्ट्र बैङ्कका पूर्वकार्यकारी निर्देशक थापाले भने।
“सट्टेबाजी लगानीमा जनता रमाउनु भनेको त्यो देश कहिल्यै पनि उँभो लाग्न सक्दैन भन्ने हो।”
मानिसहरूले अरू क्षेत्रमा लगानी गर्न असुरक्षित महसुस गरेका कारण मात्रै सुनको भाउ बढिरहेका कारण सुनको मूल्य बढ्नु खुसीको कुरा नहुनेमा महासङ्घका उपाध्यक्ष बज्राचार्य पनि सहमति जनाउँछन्।
“सुनको मूल्य बढ्नु भनेको कसैका लागि पनि सुखद होइन। केही समय कुरेर मात्रै सुन किनेर राख्नु ठीक हो,” खरिद गर्न चाहनेहरूलाई उनले सुझाएको समाचार बीबीसीले लेखेको छ ।