ई-आर्थिक, इलाम । इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। १३ करोड रुपैयाँ संकलनको लक्ष्य राखिएकोमा कार्यालयले कुल १३ करोड ८२ लाख रुपैयाँ राजस्व उठाएको छ।
कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीका अनुसार अघिल्लो वर्षको तुलनामा यो २२.०२ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले ११ करोड ३२ लाख ६१ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो। चालु वर्षमा सो भन्दा २ करोड ४९ लाख ४१ हजार ८३९ रुपैयाँ बढी संकलन भएको छ।
कार्यालयले सबैभन्दा धेरै राजस्व सवारी साधनको वार्षिक करबाट संकलन गरेको छ। यस शीर्षकमा मात्रै ९ करोड ९६ लाख ३ हजार ४४२ रुपैयाँ संकलन भएको छ।
सवारी दर्ता, नामसारी र नवीकरणबाट ७२ लाख ३ हजार ५५५ रुपैयाँ उठाइएको छ। व्यवसाय दर्ता दस्तुरबाट १ लाख २८ हजार २०० रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ।
त्यस्तै, आयकर शीर्षकमा ३७ लाख ८५ हजार ५९० रुपैयाँ र चालक अनुमतिपत्र (लाइसेन्स) बाट १ करोड ४३ लाख १७ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
सिमावर्ती नाका हुँदै करोडौंको राजस्व
नेपाल–भारत सीमाक्षेत्रको पशुपतिनगरमा स्थापना गरिएको सवारी पटके बाटो इजाजत राजस्व असुली केन्द्रबाट मात्रै १ करोड ६ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। त्यस्तै, इलाम सदरमुकाम र पशुपतिनगर हुँदै जारी गरिएका रुट पर्मिट तथा पटके दस्तुरबाट १ करोड ३० लाख ७२ हजार रुपैयाँ संकलन भएको छ।
कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले भारतीय चारपांग्रे सवारी नेपाल प्रवेश गर्दा ५१० रुपैयाँ र दुईपांग्रे सवारीका लागि २१० रुपैयाँ राजस्व लिने व्यवस्था गरेको छ। सोही व्यवस्थाअनुसार अघिल्लो वर्ष स्थापना गरिएको पशुपतिनगर असुली केन्द्रबाट नियमित राजस्व संकलन भइरहेको मैनालीले बताए।
कार्यालयको सेवा क्षेत्र इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई लक्षित गरिए पनि झापालगायतका जिल्लाबाट पनि नागरिकहरू सवारी चालक अनुमतिपत्र तथा अन्य सेवाका लागि इलाम आउने गरेका छन्। सेवाग्राहीको चापसमेत अघिल्ला वर्षको तुलनामा बढेको कार्यालयले जनाएको छ।