ई–आर्थिक, काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नं ३ का लागि राजनीतिक दलहरूलाई दल दर्ता गर्न आह्वान गरेको छ।
आयोगले बिहीबार सूचना जारी गर्दै साउन २१ गतेदेखि २७ गतेसम्म केन्द्रीय कार्यालयमा पुगेर दल दर्ताको निवेदन दिन सकिने जानकारी दिएको हो।
यसअघि आयोगले उपनिर्वाचनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। सो अनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिनेछ। सोही दिन साँझ उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ।
असोज २४ गते उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ भने कात्तिक १७ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
निर्वाचन आयोगले समानुपातिक प्रणाली अन्तर्गत प्रतिनिधिसभा वा प्रदेशसभा सदस्यका लागि बन्दसूचीमा समावेश व्यक्तिहरूलाई उम्मेदवार बन्न नपाउने स्पष्ट पारेको छ।