ई-आर्थिक, काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो पहिलो खुलामुखी म्युचुअल फण्ड योजना “सिटिजन्स सदाबहार योजना” अन्तर्गत इकाइहरूको सार्वजनिक निष्काशन र बिक्री कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त गरेपछि, योजना २०८२ साल आषाढ १३ गतेदेखि २७ गतेसम्म सार्वजनिक रूपले निष्काशन गरिएको थियो।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक रहेको यस योजनाको व्यवस्थापन सिटिजन्स क्यापिटल लिमिटेडले गरेको हो। प्रारम्भिक निष्काशन अवधिभर अत्यधिक माग आएपछि सि–आश्वा प्रणालीमार्फत सदस्य बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त आवेदनहरू अनुसार इकाइहरूको बाँडफाँड कार्य २०८२ श्रावण १५ गते, डिल्लीबजारस्थित सिटिजन्स क्यापिटलको कार्यालयमा सम्पन्न गरिएको हो।
उल्लेखनीय सफलता हासिल गर्दै, सिटिजन्स सदाबहार योजना नेपालकै पहिलो २५५ खुलामुखी म्युचुअल फण्ड बन्न सफल भएको छ। बाँडफाँड समितिले तयार पारेको तालिका धितोपत्र बोर्डमा पेश गरिएपछि कुनै आपत्ति नआएपछि उक्त तालिका अन्तिम रूपमा स्वीकृत गरिएको हो।
यस ऐतिहासिक उपलब्धिमा योगदान पुर्याउने सबै लगानीकर्ता, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्था, नियामक निकाय, सञ्चारकर्मी तथा अन्य सरोकारवालाप्रति कम्पनीले विशेष आभार प्रकट गरेको छ।
सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन तथा म्युचुअल फण्ड सेवामार्फत ग्राहकलाई सम्पूर्ण वित्तीय समाधान प्रदान गर्ने लक्ष्यका साथ निरन्तर प्रगति गर्दै आइरहेको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सहायक कम्पनीको रूपमा सञ्चालित सिटिजन्स क्यापिटलको रजिष्ट्रार कार्यालय काठमाण्डौको डिल्लिबजारस्थित बाटुलेघरमा अवस्थित छ।