हेटौंडा : बागमती प्रदेश सरकारका ताजा नियुक्त मन्त्रीहरूको शपथग्रहण समारोह अनिश्चितकालका लागि स्थगित भएको छ।
आज (बिहीबार) दिउँसो १ बजेका लागि तय गरिएको कार्यक्रम आकस्मिक रूपमा रद्द गरिएको हो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले जारी गरेको विज्ञप्तिमा प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या देखिएपछि उहाँ उपचारका लागि बिहानै काठमाडौं प्रस्थान गरेकाले शपथग्रहण समारोह अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको उल्लेख गरिएको छ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्रीमा नियुक्त गरेका थिए। उनीहरूको औपचारिक शपथ आज हुने भनिएको थियो।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बागमती प्रदेश सरकारका नवनियुक्त माननीय मन्त्रीज्यूहरूको शपथग्रहण समारोह मिति २०८२ श्रावण १५ गते विहीबार दिनको १ बजेका लागि तोकिएकोमा माननीय प्रदेश प्रमुखज्यूको स्वास्थ्यमा अकस्मात समस्या देखिएकाले उपचारार्थ आज बिहानै काठमाडौं प्रस्थान गर्नु भएको छ। उहाँको निर्देशनअनुसार अर्को सूचना प्रकाशित नभएसम्मको लागि कार्यक्रम हाललाई स्थगित गरिएको व्यहोरा जानकारी गराइन्छ।’
प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारसँगै सरकारको काम कारबाहीमा गति आउने अपेक्षा गरिएको थियो, तर शपथ कार्यक्रम स्थगित भएपछि नयाँ मन्त्रीहरूले कार्यभार सम्हाल्न ढिला हुने भएको छ।