लहान : सिराहाको लहान क्षेत्रमा मापदण्डविपरीत सञ्चालनमा रहेका पिउने पानी प्रशोधन उद्योगहरूलाई कारबाही गरिएको छ। मंगलबार इलाका प्रशासन कार्यालय लहानको नेतृत्वमा गरिएको संयुक्त अनुगमनका क्रममा चारवटा उद्योगलाई पाँच–पाँच हजार रुपैयाँका दरले जरिवाना गरिएको हो।
अनुगमनमा मापदण्ड नपुगेको, सफाइको अभाव, उत्पादन प्रक्रियामा लापरबाही लगायतका कारण उद्योगहरूलाई कारबाही गरिएको प्रशासनका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिए।
जरिवानामा पर्ने उद्योगहरूमा लहान–१ स्थित सीता मिनरल वाटर इन्डस्ट्री र फ्रेन्ड्स इन्टरनेसनल नेपाल, लहान–३ स्थित केबी एण्ड सन्स नेपाल, तथा धनगढीमाई–१० स्थित केएल मिनरल वाटर रहेका छन्।
संयुक्त अनुगमन टोलीमा लहान नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराज, र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरूको सहभागिता थियो।
प्रशासनले पिउने पानीसँग जनस्वास्थ्य जोडिएको भएकाले मापदण्डअनुसार सञ्चालन नगर्ने उद्योगमाथि निरन्तर निगरानी र कडा कारबाही गरिने जनाएको छ।