२०८३ साउन १० आइतबार

काँकरभिट्टाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात, नौ अर्ब ७१ करोड राजस्व संकलन

ई आर्थिक    बिहिबार, साउन ८ २०८२
4.9K
Shares
काँकरभिट्टाबाट १९ अर्ब ९४ करोडको पेट्रोलियम पदार्थ आयात, नौ अर्ब ७१ करोड राजस्व संकलन

ई-आर्थिक, झापा । गत आर्थिक वर्ष २०८१/८२ मा पूर्वीनाका काँकरभिट्टाबाट १९ अर्ब ९४ करोड १६ लाख ६५ हजार रूपैयाँ मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी एवम् भन्सार अधिकृत ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८०/८१ को तुलनामा ९० करोड ८२ लाख रूपैयाँ अर्थात् चार दशमलव ४० प्रतिशतले पेट्रोलियम पदार्थ आयातमा गिरावट आएको छ। आयात घटे पनि पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व भने ६ दशमलव ५० प्रतिशत अर्थात् ५९ करोड ६९ लाख १० हजार रूपैयाँले बढेको सूचना अधिकारी हुमागाईँले बताए।

कार्यालयको तथ्यांकअनुसार गत आव २०८१/८२ मा पेट्रोलियम पदार्थ आयातबाट नौ अर्ब ७१ करोड ३२ लाख ९२ हजार रूपैयाँ राजस्व संकलन भएको छ। उक्त अवधिमा आठ अर्ब ९२ करोड ८५ लाख रूपैयाँबराबरको एक लाख तीन हजार ६४ किलोलिटर पेट्रोल आयात भएको थियो।

यसैगरी सात अर्ब तीन करोड ३२ लाख रूपैयाँबराबरको ७७ हजार ४२४ किलोलिटर डिजेल आयात भएको छ।

यसैगरी उक्त अवधिमा दुई अर्ब ८२ करोड रूपैयाँबराबरको २५ हजार ५६८ मेट्रिकटन एलपी ग्यास, ६६ करोड चार लाख रूपैयाँबराबरको सात हजार २९२ किलोलिटर एटीएफ र २५ करोड ४९ लाख रूपैयाँबराबरको दुई हजार ८५२ किलोलिटर मट्टितेल आयात भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij