२०८३ भाद्र ३१ बुधबार

ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान, दुई करोड ९० लाख रुपैयाँ वितरण

ई आर्थिक    शुक्रबार, साउन २ २०८२
2.5K
Shares
ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान, दुई करोड ९० लाख रुपैयाँ वितरण

ई-आर्थिक, काठमाडौं । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले ऊर्जा दक्षता उपायहरू अपनाउने १० उद्योगलाई आर्थिक अनुदान वितरण गरेको छ ।

बैङ्कको काठमाडौंस्थित कार्यालयमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा ऊर्जा ‘अडिट’मार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेपछि पहिलो चरणमा १० वटा उद्योगलाई करिब दुई करोड ९० लाख रुपैयाँ बराबरको अनुदान प्रदान गरिएको थियो ।

यस्ता उपायहरूबाट दीर्घकालीन रूपमा वार्षिक झन्डै ३६ हजार ७८८ मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको छ, जसले नेपालको जलवायु प्रतिबद्धता तथा दिगो औद्योगिक विकासमा पनि योगदान पुर्‍याउनेछ ।

यो अनुदान कार्यक्रम नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत पुनः प्राप्ति एवं सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित छ ।

परियोजना युरोपेली सङ्घ र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) को सह–आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो । यस कार्यक्रमले उच्च ऊर्जा बचत सम्भावना भएका उद्योगहरूलाई ऊर्जा दक्ष अभ्यासहरू अवलम्बन गर्न प्रोत्साहन गर्दै आइरहेको छ ।

कार्यक्रमअन्तर्गत स्थानीय ऊर्जा अडिटरद्वारा सिफारिस गरिएका उपायहरूको कार्यान्वयनका लागि लगानी लागतको आंशिक हिस्सा अनुदान स्वरूप प्रदान गरिन्छ । यो परियोजनाले ऊर्जा दक्षता, मर्यादित श्रम अभ्यास तथा वातावरणीय मापदण्डको पालना सुनिश्चित गर्न प्राथमिकता दिँदै आएको छ ।

पहिलो चरणको अनुदान वितरणसँगै रिप–ग्रिन अनुदान सुविधा औपचारिक रूपमा सुरु भएको छ । यसबाट नेपालका औद्योगिक क्षेत्रमा सफा तथा दक्ष प्रविधिको प्रयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले अनुदान व्यवस्थाबाट नेपालमा दिगो औद्योगिक अभ्यासको प्रवर्द्धनमा महत्त्वपूर्ण उपलब्धि हुने बताउँदै दिगो वित्तीय प्रणाली र हरित अर्थतन्त्रप्रतिको बैङ्कको प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij