२०८३ साउन ९ शनिबार

११ महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि, निर्यात– आयात अनुपात १५.१ प्रतिशत

ई आर्थिक    मंगलबार, असार २४ २०८२
1.7K
Shares
११ महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि, निर्यात– आयात अनुपात १५.१ प्रतिशत

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/ ८२ को ११ महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई रु.२ खर्ब ४७ अर्ब ५७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३.० प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११२.६ प्रतिशत, ३.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया, खोटो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिङ्क सिट, जुस, तयारी पोसाक, अलैंची लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/ ८२ को ११ महिनामा कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई  १६ खर्ब ४४ अर्ब ८० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.८ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.६ प्रतिशत, १५.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ ।

वस्तुगत आधारमा भटमासको कच्चा तेल, चामल÷धान, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल, कोइला लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

आयाततर्फ जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

आर्थिक वर्ष २०८१/ ८२ को एघार महिनामा कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई रु.१३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १.७ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५.१ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोअनुपात ९.६ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकका अनुसार  समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१६७ अर्ब ३० करोड बराबरको वस्तु आयात भएको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१३७ अर्ब १३ करोड बराबरको भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij