२०८३ साउन ११ सोमबार

धराशायी अवस्थामा चितवनका कुखुराजन्य व्यवसाय, किसान बैंकको कालोसूची, लिलाम र चेक बाउन्समा

ई आर्थिक    आइतबार, असार २२ २०८२
4.6K
Shares
धराशायी अवस्थामा चितवनका कुखुराजन्य व्यवसाय, किसान बैंकको कालोसूची, लिलाम र चेक बाउन्समा

ई-आर्थिक, चितवन ।  भरतपुरको लक्ष्मीपुरमा लामो समय कुखुरापालन व्यवसाय गरेका एक किसानको मृत्यु भएको तीन महिनामा बैंकले सबै सम्पत्ति लिलाम गर्‍यो। दुई दशकभन्दा बढी यो पेसामा लागेका किसानको मृत्युपछि परिवार बिचल्लीमा परेको छ।

कतिपय कुखुरापालक किसान अहिले चेक अनादार मुद्दामा प्रहरी हिरासतमा छन्। त्यसो त दुई वर्षअघि यहाँका एक ठूला कुखुरा व्यवसायीले आत्महत्या गरेका थिए।

नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष त्रिलोचन कँडेल ८० प्रतिशत कुखुरापालक किसान विस्थापित भएको बताउँछन्। उनको भनाइमा अहिले कुखुरा पालिरहेकाहरु बैंकको ऋणका कारण ऋण थपेर व्यवसाय टिकाइरहेका छन्। कँडेलले भने, ‘कोभिडअघिसम्म कुखुरा पाल्ने किसान पाँच हजारभन्दा बढी थिए, अहिले घटेर एक हजार हाराहारी होलान्।’

उनका अनुसार आधाभन्दा बढी किसान बैंकको कालोसूची, लिलाम प्रक्रिया र चेक बाउन्समा परेका छन्। साना किसानले थप आँट गरेर व्यवसाय नगरेको उनी बताउँछन्। ती किसानलाई बैंकले ऋण तिर्नका लागि दबाब दिइरहेको छ।

किसान घटे पनि उत्पादन नघट्नुको पछाडि व्यावसायिकरुपमा फार्म खुलेका छन्। करिब ५० हजारदेखि पाँच लाखसम्म कुखुरा पाल्ने किसान ५० जना छन्। तिनै किसानका कारण उत्पादन विगतको तुलनामा कम घटेको कँडेल बताउँछन्। अहिले दैनिक ३० लाखदेखि ४० लाखसम्म समयअनुसार अण्डा उत्पादन हुने गर्दछ। चल्लाको उत्पादन भने आधा घटेको छ।

पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्ट जसको कुखुरा बाँकी छ, उनीहरुले ४० प्रतिशतभन्दामाथि ऋण थपेर टिकेको बताउँछन्। अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उनको भनाइ छ।

गत वर्षसम्म बैंकको चर्काे ब्याज, दानाको मूल्य वृद्धि, अण्डाले उचित मूल्य नपाउनुजस्ता कारण कुखुराजन्य उद्योग संकटमा परेको उनको भनाइ छ। उत्पादित चल्लाले बजार नपाउनु, सस्तो मूल्यमा कुखुराको मासु बिक्री गर्न बाध्य हुनुलगायत कारण पनि किसान संकटमा पर्दै गएको भट्ट बताउँछन्।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीपछिका समयमा उत्पादित अण्डा र मासुले लागत मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउँछन्। दानाको कच्चापदार्थ र औषधिको मूल्य दोबर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डा र मासुको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उनी बताउँछन्।

नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेल कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलोमात्रामा बैंक ऋण रहेको बताउँछन्। उनको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन। अहिले कुखुरापालन क्षेत्रमा बैंकमा रहेको धितोले ऋण तिर्न नपुग्ने उनी बताउँछन्। तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उनको भनाइ छ।

पोखरेल किसान विस्थापित हुँदै गएको, ऋण तिर्न नसकेको र निरन्तर घाटामा काम गर्नुपरेकामा कसैको ध्यान नपुग्ने तर किसानले लागत मूल्य पाउने अवस्थामा सरकार र सरोकारवालाको ध्यान पुग्ने गरेको बताउँछन्। उनले भने, ‘विगत तीन वर्षदेखि नोक्सान हुँदा कसैको ध्यान पुगेको छैन, किसानले लागत मूल्य पाउन थालेभन्दा धेरैको ध्यानाकर्षण हुन्छ।’

नेपाल ह्याचरी उद्योग संघका निवर्तमान अध्यक्ष ऋषि पौडेल धेरै ह्याचरी बन्द भइसकेको बताउँछन्। बाँकी रहेका ह्याचरीले उत्पादन गरेका चल्ला बिक्री नभएपछि पुर्नुपर्ने अवस्था अहिलेको रहेको उनी बताउँछन्। उनले भने, ‘अब कुखुरापालन क्षेत्र टिक्ने अवस्थामा छैन।’

सरकारले समयमा नै सम्बोधन गर्न नसकेमा आत्मनिर्भर रहेको यो व्यवसाय समाप्त भएर जाने उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij