ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार भण्डारी नियुक्त भएका छन् ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. को मिति २०८२ असार १३ गते बसेको सञ्चालक समितिको ७१औँ बैठकले कम्पनीको प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृतको पदमा सन्तोष कुमार भण्डारीज्यूलाई मिति असार १३ गतेदेखि लागू हुने गरी नियुक्त गरेको हो ।
यस अघि निज सन्तोष कुमार भण्डारीले नेपाल एसबिआई बैंक लिमिटेडको सुदुरपश्चिम प्रदेश कार्यालय प्रमुख, वित्त तथा योजना विभाग प्रमुख, लेखा परीक्षण विभाग अधिकृतको जिम्मेवारीमा थिए। बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ बर्ष भन्दा बढीको कार्य अनुभव सँगाल्नु भएका निज भण्डारीले स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापन गर्न सक्ने एक कुशल नेतृत्वकता हुन् ।
नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व रहेको सहायक कम्पनीको रूपमा स्थापित यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको चुक्ता पूँजी रु २० करोड रहेको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभुतिकर्ता, शेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाता लगायतका मर्चेण्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।