ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले २ खर्ब ४७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ।
गत वर्षको सोही अवधिमा निर्यात १ खर्ब ३९ अर्ब ९२ करोड रुपैयाँ मात्र रहेको थियो भन्सार विभागले बतायो । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो ११ महिनामा वस्तु तथा सेवा निर्यात ७७.७७ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाउछ ।
विभागका अनुसार समीक्षा अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । आयात १३.१५ प्रतिशतले बढेको हो ।
नेपालको समग्र वैदेशिक व्यापार १८.८० प्रतिशतले बढाएर १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
आयात र निर्यात दुबै बढ्दा व्यापार घाटा पनि बढेको छ चालू वर्षमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १३ खर्ब १४ अर्ब ४४ करोड रुपैयाँ थियो। यसरी हेर्दा व्यापार घाटा ६.३० प्रतिशतले वृद्धि भएको हो ।