२०८३ भाद्र ३० मंगलबार

नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक चयन

ई आर्थिक    बिहिबार, असार ५ २०८२
5.1K
Shares
नेशनल लाइफ इन्स्योरेन्सको ३७ औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ संचालक चयन

ई-आर्थिक, काठमाडौं ।  नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३७ औं वार्षिक साधारण सभा कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा २०८२ साल असार ५ गते सफलतापूर्वक सम्पन्न भएको छ। सभामा अध्यक्षले आर्थिक वर्ष २०८०/८१ मा देशको समग्र अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै विभिन्न कारणले अर्थतन्त्रमा परेको प्रभावबारे जानकारी दिइन्।

उनका अनुसार, कोभिड महामारीको दीर्घकालीन असर, भू–राजनीतिक द्वन्द्व, प्रतिकूल मौसमका कारण आपूर्ति श्रृंखलामा उत्पन्न अवरोध, खाद्यान्न तथा ऊर्जाको मूल्यवृद्धि, सहकारी संकट, घर–जग्गा कारोबारमा मन्दी, र वस्तु तथा सेवामा मागको ह्रासले अर्थतन्त्र सुस्त गतिमा रहेको छ। तथापि, बाह्य सूचकांकहरु सकारात्मक रहेका र केही समयपछि आन्तरिक आर्थिक अवस्थामा सुधार आउने अपेक्षा गरिएको उनले बताइन्।

समीक्षावर्ष २०८०/८१ मा कम्पनीको व्यवसाय सन्तोषजनक रहेको छ। सो वर्ष कम्पनीको कुल बीमाशुल्क २१.९० प्रतिशतले वृद्धि भई रु. २०४९.१२ करोड पुगेको छ। संचालनबाट जम्मा रु. १३६८.१८ करोड खूद थप रकम बीमा करार दायित्वमा सारिएको छ। कुल बीमा करार दायित्व २१.७० प्रतिशतले वृद्धि भई वर्षान्तसम्म रु. ७९६०.१८ करोड पुगेको छ।

यस वर्षमा कम्पनीले मृत्यु दाबी, अवधि समाप्ति, आंशिक अवधि समाप्ति, सर्मपण मूल्य लगायत विभिन्न शीर्षकमा कुल रु. ८३२.८२ करोड दाबी भुक्तानी गरेको छ। कम्पनीको कुल लगानी १७.३५ प्रतिशतले वृद्धि भई रु. ७०१५.४६ करोड पुगेको छ, भने औसत वार्षिक प्रतिफल दर ९.१७ प्रतिशत कायम भएको छ।

कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नियामक निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशत बराबरको रकम सामाजिक उत्तरदायित्व कोषमा स्थानान्तरण गरेको छ। विशेष गरी स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कम्पनीले निरन्तर सहयोग गर्दै आएको छ। यस वर्ष कम्पनीले बाल स्वास्थ्य उपचार सम्बन्धी परियोजनाका लागि रु. २५ लाख आर्थिक सहयोग प्रदान गरेको जानकारी दिइएको छ।

साधारण सभाले आ.व. २०८०/८१ को लागि हालको अद्यावधिक चुक्ता पूँजी रु. ५,२१,२१,३३,०८२ मा १० प्रतिशत नगद लाभांश (रु. ५२,१२,१३,३०८.२०) र ५ प्रतिशत बोनस शेयर (रु. २६,०६,०६,६५४.१०) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, उक्त नगद तथा बोनस लाभांशमा लाग्ने कर प्रयोजनका लागि रु. ४,११,४८,४१८.७० नगद लाभांश समेत वितरण गरिनेछ।

नियामक निकायको जीवन बीमा कम्पनीको चुक्ता पूँजी न्यूनतम रु. ५ अर्ब पुर्‍याउनु पर्ने व्यवस्था अनुसार बोनस शेयरपश्चात कम्पनीको चुक्ता पूँजी रु. ५,४७,२७,३९,७३६ पुगेको छ।

नयाँ संचालकहरूको चयन

३३ औं साधारण सभाबाट निर्वाचित संचालकहरूको कार्यकाल समाप्त भएसँगै ३७ औं साधारण सभाबाट संस्थापक समूहबाट प्रेमा राज्य लक्ष्मी सिंह, रथी पवन बहादुर पाँडे (अ.प्रा), कुशल मल्ली तथा सर्वसाधारण समूहबाट कुलदीप शरण सिंह र भवानी राणा निर्विरोध निर्वाचित भएका छन्।

सभामा अध्यक्ष प्रेमा सिंहले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले भविष्यमा एक प्रमुख बीमकको रुपमा आम सर्वसाधारणको जीवन बीमाको आवश्यकताको परिपूर्ति गर्न अग्रणी भूमिका खेलिरहने विश्वास व्यक्त गरिन्।

साथै, प्रविधिमैत्री संरचना विकास, कर्मचारी दक्षता अभिवृद्धि तथा दीर्घकालीन आर्थिक स्थायित्वमा कम्पनी केन्द्रित रहने प्रतिबद्धता पनि व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij