२०८३ साउन १० आइतबार

उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ: उद्योगमन्त्री भण्डारी

ई आर्थिक    सोमबार, असार २ २०८२
3.5K
Shares
उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छ: उद्योगमन्त्री भण्डारी

ई-आर्थिक, ललितपुर ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताएका छन्।

ललितपुर महानगरपालिकाद्वारा आज एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलु उद्योगको प्रवर्द्धनबाट समाधान गर्नुपर्ने बताए।

‘हामी मेड इन नेपालको उत्पादनलाई खरिद गर्नेछौँ, हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्छ, हाम्रो दैनिक जीवनमा नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ, हाम्रो उत्पादनको ब्राण्डिङ पहिलो प्राथमिकता हो, बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ, कानून, विधि र नीतिगत रुपमा सम्बोधन गरेर उपलब्धि हासिल गर्नुछ, थुप्रै कानूनका सुधारहरु सरकारले गरेको छ, लगानीमा क्षेत्रहरु पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको छ।’

मन्त्री भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको छ भन्दै उद्योग मन्त्रालय नेपालको जिडिपीमा उद्योगको योगदान बढाउन नीति र कानूनमा सहुलियत दिने कुरामा ध्यान दिएर लागेको बताए।

‘बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको छ, स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई २५ लाख रूपैयाँसम्म दिने कार्यक्रम समावेश गरेका छौँ, महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्छ’, उनले भने।

नेपालको उद्यमशीलताको विकासमा ललितपुरका उद्यमीको महत्वपूर्ण योगदान रहने उल्लेख गर्दै मन्त्री भण्डारीले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा सफल हुने क्रममा कति उद्यमी र उत्पादन वृद्धि गर्न सक्यो भन्ने भूमिका महत्वपूर्ण हुने बताए।

विश्वमा आफ्नो उत्पादनको बजारीकरण र ब्रान्डिङ गर्ने सन्दर्भमा प्रतिस्पर्धा चलिरहेको उल्लेख गर्दै उनले यो प्रतिस्पर्धामा नेपालले सामेल हुनुपर्नेमा जोड दिए। ‘लघु घरेलु कोष स्थापना गरेका छौँ, सार्वजनिक निकायमा स्वदेशी उत्पादनको प्रयोगसम्बन्धी कानून ल्याएका छौँ, पहिलो बजार राष्ट्रिय बजार नै हो, राज्यका निकायमा बसेकाहरुले यसको प्रवर्द्धन गर्नुपर्छ’, उनले भने।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालकै सबैभन्दा जेठो स्थानीय पालिकाले गर्ने काम अरु स्थानीय तहले अनुसरण गर्ने खालको हुनुपर्छ भन्दै यसका लागि सबै कर्मचारीले ध्यान दिएर कार्यसम्पादन गर्न आग्रह गरे।

‘ललितपुर महानगरको उत्पादनलाई देशैभर चर्चा कमाउने गरी उत्कृष्ट बनाउन लाग्नुस्, हामी समस्या सम्बोधन गर्न तयार छौँ,’ प्रमुख महर्जनले भने।

जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयालले महिलाले आफूले उत्पादन गर्ने सन्दर्भमा भोगेका समस्या समाधान गर्न, पूँजी, सीप, प्रविधि र बजारको व्यवस्थापन गर्न यो उद्यमी सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उद्योगधन्दा र कलकारखानाको विकासले नै नेपालको समृद्धि हुने भन्दै उनले यसका लागि संघ र प्रदेश सरकारबाट पर्याप्त काम हुने अपेक्षा राखे।

महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले उद्यम, उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर लागेका महिलालाई प्रोत्साहन गरेर राज्यको अपेक्षाअनुसार समृद्धि हासिल गर्न लाग्नुपर्ने तथा हाम्रो महानगर, राम्रो महानगर बनाउन लाग्नुपर्नेमा जोड दिइन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठले महिलाको उद्यमशील भनेको एक जना व्यक्तिको सफलता मात्रै नभइ परिवार र समुदायको सफलता भएको बताए। उनले यस महिला उद्यमी सम्मेलनबाट उद्यमशीलताका क्षेत्रमा उत्कृष्ट काम र उत्साहजनक उपलब्धि हासिल हुने विश्वास व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij