ई-आर्थिक, काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सामूहिक लगानी कोष अन्तर्गतको ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई असार २२ गतेदेखि सार्वजनिक निष्कासनमा ल्याउने भएको छ।
क्यापिटलले प्रति इकाई रू १० अंकित मूल्यमा कुल १२ करोड इकाई, अर्थात रू १ अर्ब २० करोड बराबरको कोष, निष्कासन गर्न लागेको हो। यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको म्युचुअल फण्ड हुनेछ, जसलाई ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन गरिनेछ।
कुल निष्काशित १२ करोड इकाईमध्ये १.५ प्रतिशत (१८ लाख इकाई) योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई प्रदान गरिनेछ भने १३.५ प्रतिशत (१ करोड ६२ लाख इकाई) बीज पूँजीको रूपमा राखिनेछ। बाँकी १० करोड २० लाख इकाई भने सर्वसाधारणका लागि खुला गरिनेछ।
न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। इकाईका लागि असार २५ गतेसम्म आवेदन दिन सकिनेछ, र यदि सो अवधिमा सबै इकाई बिक्री नभए साउन ४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जानकारी दिएको छ।
धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरू, साथै ‘मेरो शेयर’ अनलाइन पोर्टलमार्फत सि–आस्बा प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।
यस म्युचुअल फण्ड योजनाका लागि गरिएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई ‘ICRANP Issuer Rating A–’ प्रदान गरेको छ। योजना व्यवस्थापकलाई भने इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले ‘IRN AMC Quality 3+’ रेटिङ्ग दिएको छ।
ग्लोबल आइएमई क्यापिटल यस योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक रहेको छ। यस म्युचुअल फण्डमा लगानी गर्न इच्छुकहरूका लागि यो अवसर आकर्षक मानिएको छ।