२०८३ साउन १० आइतबार

‘बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने छ’

ई आर्थिक    शुक्रबार, जेष्ठ ३० २०८२
5.7K
Shares
‘बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने छ’

ई-आर्थिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को निर्णय सच्चिने बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३औँ महाधिवेशनको उद्घाटन सत्रमा आज उनले बजेटमा उल्लेख भएको ‘टेक एन्ड पे’ को व्यवस्थालाई सच्याउनका लागि ऊर्जा मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र पठाइसकेको बताएका हुन्।

ऊर्जामन्त्री खड्काले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेकाले उक्त लक्ष्यलाई पूरा गर्न प्राधिकरणका कर्मचारीको ठूलो मेहनत आवश्यक रहेको बताए।

‘छोटो समयमा ६४ खर्ब रूपैयाँ लगानी गरेर ठूलो लक्ष्य हासिल गर्दै गर्दा लाखौँ व्यक्तिले रोजगार पाउनाका साथै राज्यलाई खर्बौँ राजस्व आम्दानी हुने र अन्य क्षेत्रसमेत चलायमान हुन्छ’, उनले भने।

मन्त्री खड्काले विद्युत् प्राधिकरणभित्र रहेका ज्यालादारी कर्मचारीको समस्या बढी रहेकाले यसको समाधानका लागि काम गरिने बताए। ‘ज्यालादारी कर्मचारी नै बढी दुर्घटना र पीडामा पर्नुभएको छ, उहाँहरूलाई पनि ख्यालमा राखेर सेवासुविधा थप्नुपर्छ भनेर लागेका छौँ, सेवासुविधाबारे मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र लेखेर पठाएको छ, चाँडै अर्थ मन्त्रालयबाट निर्णय हुन्छ भन्ने अपेक्षा छ’, मन्त्री खड्काले भने।

मन्त्री खड्काले विद्युत् ऐन चाँडो संसदबाट पास हुने चरणमा रहेको बताउँदै मुलुकको आवश्यकतालाई हेरेर सरकारले आफ्ना निकायलाई परिष्कृत गर्दै लैजाने बताए। प्राधिकरणलाई ‘अन्डरवन्डलिङ’ गरे कर्मचारीलाई पनि फाइदा हुने उनको भनाइ थियो।

ऊर्जामन्त्री खड्काले विदेशमा श्रम गर्न गएका नेपालीले कमाएको रकम जलविद्युत् क्षेत्रमा लगानी गर्‍यो भने दीर्घकालीन फाइदा हुन्छ भनेर त्यस्ता रकमलाई जलविद्युत् क्षेत्रमा लगाउन सरकारले काम गरिरहेको बताए। पर्यटन, कृषि, उद्योगभन्दा अगाडि ऊर्जा क्षेत्रबाट फाइदा लिन सक्छौँ भनेर सरकार लागिरहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij