युवा र महिला उद्यमी मिलेर मुलुकमा केही गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड
ई–आर्थिक, काठमाडौं । महिला उद्यमी महासङ्घको आयोजनामा अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ सुरु भएको छ । महासंघकी अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सुरु भएको उक्त महिला नेतृत्व सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार, युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताए ।
समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका हुन् । ‘हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ ।’ प्रधानमन्त्री ओलीले भने– ‘सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ ।’
साथै महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएको उनले बताए । उनले तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेको र विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी रहेकाले नतिजामा पनि छात्राहरूको राम्रो हुँदै गएको प्रधानमन्त्री ओलले बताए ।
उनले भने, ‘हामीले महिलाको सशक्तीकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ। तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ । नतिजामा पनि छात्राहरूको राम्रो हुँदै गएको छ। हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ ।’
