२०८३ साउन ११ सोमबार

यसवर्ष सर्लाही नवलपुरबाट आँप बिक्रीका लागि ५३ लाख बढी मूल्यमा ठेक्का

ई आर्थिक    सोमबार, जेष्ठ १२ २०८२
2.6K
Shares
यसवर्ष सर्लाही नवलपुरबाट आँप बिक्रीका लागि ५३ लाख बढी मूल्यमा ठेक्का

ई-आर्थिक, सर्लाही ।  उष्ण प्रदेशिय बागवानी केन्द्र सर्लाही नवलपुरले ५३ लाख बढी मूल्यमा यस वर्षको आँप बिक्रीका लागि ठेक्का लगाएको छ। केन्द्रले लालबन्दी नगरपालिका-२, बागवानीमा उत्पादन भएको आँप बिक्रीको लागि जम्मा ५३ लाख ७१ हजार रुपैयाँमा ठेक्का लगाएको हो।

दोस्रो पटक आँप बिक्रीका लागि निकालेको सूचनाअनुसार सुरज निर्माण सेवा लालबन्दी-१, पुनर्वासले उक्त मूल्यमा ठेक्का सकारेको केन्द्रका निमित्त वरिष्ठ बागवानी विकास अधिकृत रामकुमार यादवले जानकारी दिए।

उनका अनुसार यस वर्ष आँप गत वर्षको तुलनामा दुई गुणा बढी मूल्यमा ठेक्का लागेको हो। गत वर्ष २१ लाख १५ हजारमा ठेक्का लागेको थियो। ‘गत वर्ष अफ सिजन थियो। त्यसैले आँप निकै कम फलेर ठेक्का पनि कम रकममा लागेको हो’ निमित्त प्रमुख यादवले भने।

यसवर्ष सिजन भएकाले धेरै फलेको उनको भनाइ छ। उत्पादन बढेकाले बागवानीले ७१ लाख ११ हजार १२१ बिक्री मूल्य राखेर गत वैशाख १६ गते प्रथम पटक बिक्री सूचना निकालेको थियो। तर, १५ दिनको म्याद अवधिमा आँप ठेक्काको निवेदन नपरेको उनकाे भनाइ छ।

त्यसपछि केन्द्रले फेरि गत जेठ १ गते ५१ लाख ७५ हजार मूल्य राखेर दोस्रो पटक सात दिनको लागि सूचना निकालेको हो। ठेक्का लगाउने समयमा हावाहुरीले आँपमा क्षति गरेकाले ठेक्का मूल्य घटाउनुपरेको केन्द्रका निमित्त प्रमुख यादवले जानकारी दिए। यस केन्द्रले अहिलेसम्मकै धेरै आर्थिक वर्ष २०७९/८० मा एक करोड ११ लाख रुपैयाँमा आँप बिक्री गरेको थियो।

यहाँ करिब एक सय बिघा क्षेत्रफलमा आँपका ६ हजार वटा रूख छन्। त्यसमध्ये वर्षेनी तीन हजार पाँच सय बढी रुखमा मात्र फल लाग्ने गरेको छ। बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमसहित ३५ बढी जातका आँप उत्पादन हुने गरेको निमित्त केन्द्र प्रमुख यादव बताउँछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij