२०८३ साउन १२ मंगलबार

पर्यटकीय सम्भावना बोकेको ‘चमेरे गुफा’ ओझेलमा

ई आर्थिक    शनिबार, जेष्ठ १० २०८२
4.9K
Shares
पर्यटकीय सम्भावना बोकेको ‘चमेरे गुफा’ ओझेलमा

ई-आर्थिक, इलाम ।  पर्यटनको सम्भावना रहेको यहाँको माङ्सेबुङ गाउँपालिका-२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ। देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको चमेरे गुफाको उचित प्रचारप्रसार हुन सकेको छैन।

पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिएको चमेरे गुफामा पूर्वाधार निर्माण, संरक्षण र प्रबर्द्धन गर्न नसकिएको स्थानीय पृथीमान जवेगूले बताए। स्थानीयले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रबर्द्धनका लागि सरकारी निकायको ध्यान नगएको उनको भनाइ छ।

यो गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि एक किलोमिटर दुरीमा अवस्थित छ। प्राकृतिक रुपमा सुन्दर र आकर्षक छ चमेरे गुफा। ‘चमेरे गुफाकाे संरक्षण र प्रबर्द्धनसँगै प्रचारप्रसार गर्न सके पर्यटक बढ्ने सम्भावना छ’ जवेगूले भने।

देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किवदन्ती प्रचलित छ। पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन्।

गुफा फराकिलो छ। गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ। खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा भूगर्भीय अध्ययनको दृष्टिले रोचक छ। गुफामा करिब ४० देखि ५० जना मानिस अट्न सक्ने आकारमा छ।

तत्कालीन लिम्बूवानका राजाहरुले आफ्ना सेनालाई सेल्टरको रुपमा यस गुफामा राख्ने गरेको बताइन्छ। माङ्सेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यस वर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए।

‘यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनाबद्ध रुपमा काम गर्नेछौँ’ उनले भने। माङ्सेबुङ-२ का वडाध्यक्ष कृष्णबहादुर बस्नेतले चमेरे गुफाको प्रबर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij