२०८३ साउन १२ मंगलबार

हुरीसहितको वर्षाले चितवनको केराखेतीमा २० प्रतिशत क्षति

ई आर्थिक    आइतबार, जेष्ठ ४ २०८२
2.8K
Shares
हुरीसहितको वर्षाले चितवनको केराखेतीमा २० प्रतिशत क्षति

ई-आर्थिक, चितवन।  गत साता आएको हुरीसहितको वर्षाले चितवनको केराखेतीमा २० प्रतिशत क्षति भएको छ। जिल्लाका पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको केरामा क्षति भएको केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले बताए।

उनका अनुसार गत बुधबार र बिहीबार पूर्वी चितवनको कालिका नगरपालिका, चैनपुर, वीरेन्द्रनगर र रत्ननगरमा गरिएको केराखेतीमा क्षति पुगेको छ। ती क्षेत्रमा १५ देखि २० प्रतिशतसम्म क्षति पुगेको उनको भनाइ छ।

शुक्रबार आएको हुरीका कारण भरतपुर महानगरपालिका वडा नम्बर २३ र २६ मा केराखेतीमा क्षति पुगेको छ। साथै भरतपुरको ठिमुरा क्षेत्रमा पनि क्षति पुगेको छ। केराखेती गर्दै आएका कालिका नगरपालिकाका माधव घिमिरेले उत्पादन लिने समयमा हुरीले केरामा क्षति पुर्‍याएको बताए।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनका सूचना अधिकारी रविकीरण अधिकारीका अनुसार हुरीले केराखेतीमा भएको क्षतिको विवरण संकलन भइरहेको छ। चितवनमा मालभोग, चिनी चम्पा र जि-९ जातको केराखेती हुँदै आएको छ। यहाँ ३ हजार बिघाभन्दा बढी क्षेत्रफलमा ७०० बढी किसानले केराखेती गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij