२०८३ साउन ११ सोमबार

राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको आशंका

ई आर्थिक    आइतबार, जेष्ठ ४ २०८२
5.6K
Shares
राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको आशंका

ई-आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा चलखेल भएको आशंका व्यक्त गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिएको भन्दै त्यसकै कारण गभर्नर नियुक्तिमा पनि चलखेल हुनसक्ने शंका व्यक्त गरे।

“मलाई डर लाग्न थालेको छ, कतै राष्ट्र बैंकको गभर्नर नियुक्तिमा पनि चलखेल त भइरहेको छैन?,” नेता कोइरालाले भने, “सभापतिजीले भनेको आधारमा म आश्वस्त छु कि योग्य र डेमोक्रेटिक मान्छे नै आउँछ। तर चिन्ता भने बाँकी छ, कतै केही गडबड त छैन?”

उनले गभर्नर नियुक्तिको प्रक्रियामा संविधान मिचिएको पनि बताए। संविधान अनुसार कार्यकाल सकिनुभन्दा एक महिना अघि नै गभर्नर नियुक्ति गर्नुपर्ने उल्लेख गर्दै कोइरालाले हालसम्म नियुक्ति नहुनु संविधानविपरीत भएको बताए। “महाप्रसाद अधिकारीको कार्यकाल चैत २७ मा सकिएको रहेछ, अहिले जेठ भइसक्यो, नियुक्ति अझै छैन,” उनले प्रश्न गरे, “यसरी कति दिन चल्छ देश?”

कोइरालाले पछिल्लो समय देखिएको रेमिट्यान्स वृद्धि पनि शंकास्पद भएको बताए। “गत महिना मात्रै करिब २ खर्ब रुपैयाँ रेमिट्यान्स आएको तथ्यांक छ, तर वैदेशिक रोजगारमा जाने संख्या हेर्दा त्यो सम्भव देखिँदैन,” उनले भने, “यो रेमिट्यान्सका नाममा अवैध पैसा नेपालमा भित्रिएको हुनसक्छ।”

उनले देशमा दण्डहीनता बढ्दै गएको, सुशासन र भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै जनतामा असन्तुष्टि बढेको पनि उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij