२०८३ भाद्र २९ सोमबार

बीमा प्राधिकरण ५७औं वार्षिकोत्सव विशेष: नेपाल बीमा र बीमा प्राधिकरणको इतिहास

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०८२
6.3K
Shares
बीमा प्राधिकरण ५७औं वार्षिकोत्सव विशेष: नेपाल बीमा र बीमा प्राधिकरणको इतिहास

लक्ष्मण फुयाल, काठमाडौं । मानवीय जीवन तथा सम्पत्तिमा विभिन्न प्रकारका प्राकृतिक प्रकोप, विपत्ति र जोखिमहरुको सम्भावना रहेको हुन्छ, जस्तैः मृत्यु,भुकम्प¸बाढी¸पहिरो¸दुर्घटना¸आगलागी आदि । यस्तो प्रकारको जोखिमबाट मानव जीवन तथा सम्पत्तिमा क्षति हुने सम्भावना हुन्छ । यस्तो अनिश्चित जोखिमबाट हुने आर्थिक नोक्सानीबाट बच्नको लागि बीमक (बीमा कम्पनी) लाई जोखिमको हस्तान्तरण गर्ने प्रकृयालाई नै बीमा भनिन्छ ।

बीमा भनेको आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता हो । बीमा गर्दा बीमा गर्ने व्यक्ति (बिमित) र बीमा गरिदिने व्यक्ति (बीमक) बीच लिखित सम्झौता हुन्छ । त्यहि सम्झौताका आधारमा बीमा कम्पनीले नोक्सानी बराबरको क्षतिपूर्ति रकम दिन्छ ।

अर्थतन्त्रका विभिन्न क्षेत्रहरू मध्ये बीमा एउटा जटिल प्राविधिक विषय मात्र नभई जोखिम व्यवस्थापनसँग सम्बन्धित भएको अत्यन्तै संवेदनशील विषय पनि हो। यस उद्योग अन्तर्गत कार्य गर्ने बीमा कम्पनी, बीमा सर्भेयर, बीमा अभिकर्ता आदिको उचित सुपरिबेक्षण तथा नियमन गरी समग्र बीमा उद्योगलाई मर्यादित र स्वच्छ बनाउनका लागि एउटा सक्षम नियमनकारी निकायको आवश्यकता परिपूर्ति गर्न वि.सं. २०२५ सालमा तत्कालीन श्री ५ को सरकार, अर्थ मन्त्रालयअन्तर्गत एउटा शाखाका रुपमा तत्कालीन बीमा समितिको स्थापना भएको थियो, जसको स्वरूपमा करिव साढे दुई दशकसम्म कुनै परिवर्तन भएन ।

सरकारको उदार आर्थिक नीतिको योजना अन्तर्गत निजी क्षेत्र समेतका थुप्रै बीमा कम्पनीहरु स्थापनाभएको हुनाले सशक्त बीमा नियमनकारी निकायको आवश्यकता महसुस गरी बीमा ऐन, २०४९ जारी गरी सोही ऐन अन्तर्गतवि.सं. २०४९ साल देखि तत्कालीन बीमा समितिलाई एउटा स्वायत्त नियमनकारी निकायका रुपमा स्थापना गरियो । यसरीबीमा क्षेत्रलाई थप बलियो बनाउन र नियमानकार्यलाई सुद्रिढ गर्न बीमा ऐन, २०४९ लाई बीमा ऐन, २०७९ ले प्रतिस्थापितगरेको छ । साथै, बीमा ऐन, २०७९ले तत्कालीन बीमा समितिको नाम समेत परिवर्तन गरी नेपाल बीमा प्राधिकरण बनाएको छ । नेपाल बीमा प्राधिकरण बीमा उद्योगलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउनका लागि बीमा ऐन, २०७९ को परिधि भित्र आफ्नो अधिकार प्रयोग गर्दै आएको छ ।

बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बीमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउन एवं बीमा व्यवसायको प्रभावकारी रुपमा नियमन गरी बीमितको हक हित संरक्षण गर्नको लागि बीमा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गरी समयानुकूल बनाउन बीमा ऐन, २०७९ जारी भए पश्चात बीमा व्यवसायको नियमनकारी निकायको रुपमा नेपाल बीमा प्राधिकरणको स्थापना गरेको हो ।

नेपालमा बीमाको इतिहास

प्राचीन कालमा विश्वका धेरै स्थानमा अविकसित स्वरूपका थुप्रै बीमाका अभ्यासहरू हुने गरेका थिए । भारत, ग्रीस, चीन, इटाली जस्ता प्राचीन सभ्यताहरुमा आजकल बीमा भनिने क्षतिपूर्तिको प्रणाली प्रचलनमा थियो भन्ने कुरा इतिहासमा उल्लेख गरिएको पाइन्छ । नेपालमा पनि बीमा लिच्छवीकाल देखि नै प्रचलनमा रहेको इतिहास छ । प्राचीन बीमाको एउटा उत्तम अभ्यास नेवारी समाजमा रहेको गुठी परम्परामा देख्न सकिन्छ ।

नेपाल एकिकरण पश्चात सार्वजनिक सम्पत्तिको वा सर्वसाधारणको सम्पत्ति क्षति भएको खण्डमा त्यस्तो क्षतिको अवस्था हेरी राज्यको तर्फबाट कुमारी चोक अड्डाले क्षतिपूर्ति बहन गर्ने गर्दथ्यो । वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना भएपछि पनि सबै प्रकारका बीमा भारतीय बीमा कम्पनीहरु मार्फत नै गर्ने गरिएको हुन्थ्थे । बैंकिङ प्रणालीमा आयात निर्यात हुने सामान तथा धितो राखेको बस्तुको सुरक्षा गर्नका लागि बीमा गर्नु अपरिहार्य थियो र त्यस्तो बीमाका लागि भारतीय बीमा कम्पनीहरुको भर पर्नु पर्दथ्यो ।

त्यसैले नेपालमा नै आफ्नै बीमा कम्पनीको आवश्यकता महसुस गरी वि.स. २००४ सालमा नेपाल बैंक लिमिटेडको अग्रसरता र स्वामित्वमा पहिलो बीमा कम्पनीको रुपमा नेपाल माल चलानी तथा बीमा कम्पनी’ स्थापना भयो । यस कम्पनी मार्फत नेपाली वस्तुहरूको बीमा नेपालमा नै गर्न चाहनेहरूका लागि बाटो खुल्ला भयो ।

बीमाको महत्व र आवश्यकता बढ्दै जाँदा नेपाल सरकारले राज्यको आफ्नै बीमा कम्पनी आवश्यक भएको महसुस हुनाले वि.सं. २०२४ सालमा राष्ट्रिय बीमा संस्थान प्रा.लि. को स्थापना भयो । सो कम्पनीलाई वि.सं. २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ जारी गरी सरकारी कम्पनीका रुपमा राष्ट्रिय बीमा संस्थानका रुपमा परिवर्तन गरि यो । निर्जीवन बीमा व्यवसाय मात्र गर्दै आएको यस कम्पनीबाट वि.सं. २०२९ सालबाट जीवन बीमा व्यवसाय पनि प्रारम्भ भयो ।

वि.सं. २०४४ सालमा नेपालमा पहिलोपल्ट निजी क्षेत्रको सक्रियतामा विदेशी लगानीमा संयुक्त लगानीको बीमा कम्पनीको स्थापना भयो।

जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्ने उद्देश्यका साथ उक्त नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्थापना भएको थियो । वि.सं. २०४६ सालको राजनीतिक परिवर्तन पश्चात बनेको सरकार लेउदार अर्थनीति अवलम्बन गर्यो। जस अनुरुप सार्वजनिक उद्यमहरु निजीकरण गर्ने क्रमसँगै निजी क्षेत्रलाई अन्य उद्योगजस्तै बीमा उद्योगमा आकर्षित गर्ने नीति सरकारले लियो ।

तत्पश्चात नेपालमा निजी क्षेत्रको स्वामित्वमा बीमा कम्पनीहरु स्थापना गर्ने लहर नै चल्यो ।

हाल  बीमा प्राधिकरण अन्तर्गत ३७ वटा बीमा कम्पनीहरु सञ्चालनमा रहेका छन जस मध्ये १४/१४ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनी छन् । दुई वटा पुनर्बीमा कम्पनी र  ७ लघुबीमा कम्पनी रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij