२०८३ साउन १२ मंगलबार

कतारले ट्रम्पलाई ४० करोड डलरको लग्जरी विमान उपहार दिने

ई आर्थिक    मंगलबार, बैशाख ३० २०८२
3.1K
Shares
कतारले ट्रम्पलाई ४० करोड डलरको लग्जरी विमान उपहार दिने

ई–आर्थिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वको आफ्नो पहिलो लामो विदेश भ्रमणका क्रममा कतारबाट ४० करोड अमेरिकी डलर मूल्यको सुपर लग्जरी बोइङ ७४७-८ जम्बो जेट विमान उपहार स्वरूप प्राप्त गर्ने भएका छन्।

यो विमानलाई ‘फ्लाइङ प्यालेस’ (उड्ने महल) नाम दिइएकाे छ। कतारको शाही परिवारले उपहारका रूपमा ट्रम्पलाई प्रदान गर्न लागेको हो। यो अमेरिकी सरकारले कुनै विदेशी सरकारबाट प्राप्त गरेको हालसम्मकै सबैभन्दा महँगो उपहार हुने अनुमान गरिएको छ।

ट्रम्प मंगलबार कतार पुग्ने कार्यक्रम छ। सोही अवसरमा यसको औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ। यो भ्रमण उनको दोस्रो कार्यकालको पहिलो लामो विदेश यात्रा हुनेछ। कतारसँगै उनी साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स पनि पुग्ने छन्।

यो विमानलाई एयर फोर्स वनको रूपमा अस्थायी प्रयोग गर्ने सम्भावनाबारे चर्चा भइरहेकाे छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा यो उपहारलाई पारदर्शी रूपमा प्राप्त गर्न लागिएको र यसले ४० वर्ष पुरानो एयर फोर्स वनलाई विस्थापन गर्न सक्ने उल्लेख गरेका छन्।

यो उपहारलाई लिएर ट्रम्पमाथि नैतिक र कानुनी प्रश्नहरू उठेका छन्। कतिपयले ट्रम्पको मध्यपूर्वमा विशेषगरी कतारमा भएकाे व्यापारिक हितसँग यो उपहारलाई जोडेर आलोचना गरेका छन्। यो उपहारको घोषणापछि ट्रम्पले सन् २०२९ मा आफ्नो कार्यकाल समाप्त नहुँदासम्म यो विमानलाई राष्ट्रपतिको विमानका रूपमा प्रयोग गर्न सक्ने बताइएको छ।

कतारले यो उपहारमार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुका साथै कूटनीतिक लाभ लिन खोजेको हुन सक्ने विश्लेषण पनि भइरहेको छ। अहिले सामाजिक सञ्जालमा पनि यो कुरा बहसको विषय बनेको छ। कतिपयले यसलाई कतारको कूटनीतिक चालको रूपमा हेरेका छन् । अर्कोतिर ट्रम्पको नैतिकतामाथि प्रश्न पनि उठाइएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij