ई–आर्थिक, काठमाडौं । महिला उद्यमी संघ बागलुङको अध्यक्षमा उमा शाक्य चयन भएकी छन् । संघको पहिलो अधिवेशनले शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ ।
सभाले आगामी तीनवर्षका लागि एघार सदस्यीय कार्यसमिति पनि चयन गरेको छ । उक्त अधिवेशनको उद्घाटन महिला उद्यमी महासंघकी अध्यक्ष शोभा ज्ञवाली र बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले गरेका थिए ।
संघको अध्यक्ष उमा शाक्य, उपाध्यक्ष यामकुमारी थापा, सचिव नवीना श्रीषथापा, कोषाध्यक्ष लक्ष्मी किसान, सहसचिव फूलमाया थापा पुन, सह कोषाध्यक्ष रिता घर्ती चयन भएका छन् । त्यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, फूलमाया थापा, पार्वती पुन, लक्ष्मी थापा, बिहानी छन्त्याल थापा पनि चयन भए ।
संघको यसअघि तदर्थ समितिको अध्यक्षमा पनि उमा शाक्य नै थिइन ।
कार्यक्रममा महासंघकी अध्यक्ष ज्ञवालीले महिलालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले विशेष ध्यान दिनपर्ने बताईन । ‘महिलालाई उद्यमशील बनाउन सबैको साथ र सहयोग जरुरी छ,’ उनले भनिन, कृषिमार्फत पनि महिलालाई आत्मनिर्भर बनाउन सकिन्छ । कृषि उत्पादन बढाएर निर्यात बढाउन सकेको खण्डमा मुलुकले नै आर्थिक वृद्धि गर्छ ।’
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले महिलालाई उद्यमशील बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम गरिरहेको बताए । ‘महिलालाई आत्मनिर्भर बनाउने हो भने परिवार हुँदै मूलूक नै बलियो हुनेछ,’ उनले भने, ‘स्थानीय तहले त्यसका लागि पहल गरिरहेको छ।’ आगामि आर्थिक वर्षमा महिला उद्यमशीलताका लागि बजेट पनि विनियोजन गर्ने उनले बताए ।
संघकी अध्यक्ष उमा शाक्यले बागलुङ नगरभित्रका महिलालाई समेटेर उद्यमशीलताको बाटोमा अगाडि बढाईरहेको बताईन । महासंघकी गण्डकी प्रनिनिधि पार्वती पौडेल रेग्मी लगायत बागलुङका महिला उद्यमी सहभागि थिए ।