२०८३ साउन १० आइतबार

१७ वर्षदेखि सरकारले उत्पादित औषधिको मूल्य समायोजन नगर्दा उद्योगी चरम समस्यामा

ई आर्थिक    सोमबार, बैशाख १५ २०८२
4.8K
Shares
१७ वर्षदेखि सरकारले उत्पादित औषधिको मूल्य समायोजन नगर्दा उद्योगी चरम समस्यामा

ई-आर्थिक, चितवन ।  १७ वर्षदेखि नेपालमा उत्पादित औषधिको मूल्य समायोजन भएको छैन। मूल्य समायोजन नहुँदा उद्योग सञ्चालनमा समस्या देखिएको छ।

आयातित औषधिको बाहुल्य हुँदा स्वदेशी उद्योगहरुले लागत मूल्य पाउन सकेका छैनन्। यस्तो अवस्थामा कतिपय उद्योगले उत्पादन नै बन्द गर्नुपरेको जनाएका छन्।

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष जीनारायणबहादुर क्षेत्रीका अनुसार ३० भन्दा बढी प्रकारका औषधिको मूल्य १७ वर्षदेखि एउटै छ। खुल्लारुपमा नेपाल आउने भारतीय त्यही प्रकारका औषधिको मूल्य बढी भएपनि यहाँ उत्पादन भएका औषधि सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता छ।

बजारमा बढी माग हुने स्वदेशमा उत्पादित सिटामोल अहिले प्रतिट्याब्लेट एक रुपैयाँमा बिक्री हुन्छ भने जीवनजल प्रतिप्याकेट १० रुपैयाँमा बिक्री हुँदै आएको छ। अन्य औषधिमा पनि उही समस्या भएको उनको भनाइ छ। पूर्वअध्यक्ष क्षेत्री नेपालका व्यवसायीहरु लागत मूल्यभन्दा कममा औषधि बिक्री गर्न बाध्य भएको बताउँछन्।

पछिल्लो १७ वर्षमा उद्योगका लागि आवश्यक जग्गाको मूल्य, कच्चा पदार्थको मूल्य, बैंकको ब्याज, डलरको भाउ, प्याकेजिङको मूल्य, जनशक्तिको पारिश्रमिकलगायतमा धेरै गुणा वृद्धि भइसकेको छ। तर, औषधिको मूल्य नबढेको पूर्वअध्यक्ष क्षेत्री बताउँछन्। उनी भन्छन्, ‘भारतमा समय समयमा औषधिको मूल्य समायोजन हुन्छ तर, नेपालमा लामो समयसम्म समायोजन हुन नसक्दा उद्योगहरु संकटमा परेका छन्।’

साथै खुल्लारुपमा विदेशबाट औषधि आउँदा पनि नेपालका उद्योग मारमा परेका हुन्। केही वर्षअघि सरकारले ३० प्रकारका आत्मनिर्भर औषधि आयातमा प्रतिबन्ध लगाउन प्रयास गरेपनि सफल हुन सकेको छैन। ‘१० भन्दा बढी नेपाली उद्योगले उत्पादन गर्ने औषधि पनि बाहिरबाट ल्याएपछि यहाँका उद्योग कसरी टिक्छन्? पूर्वअध्यक्ष क्षेत्री प्रश्न गर्दै भन्छन्।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष महेश प्रधान १७ वर्षदेखि औषधिको मूल्य समायोजन हुन नसक्नु, देशकै उद्योगले आवश्यक मात्रामा उत्पादन गर्न सक्ने औषधि विदेशबाट ल्याउन दिनु, उद्योग स्थापना गर्दा आयात हुने सामग्रीमा ५६ प्रतिशतसम्म भन्सार तिर्नुपर्ने, सरकारी सहुलियत कुनै क्षेत्रमा नहुनुलगायतका कारण यहाँका उद्योग धरासायी बन्दै गएको बताउँछन्।

उनले नेपालमा सञ्चालनमा आएका ८३ औषधि उद्योगमध्ये ९ वटा बन्द भएको बताए। उनी भन्छन्, ‘औषधि व्यवस्था विभागमा दर्ता भएका १८२ मध्ये उत्पादन थालेका ८३ मध्ये सञ्चालनमा आएकाहरु पनि आधा क्षमतामा मात्रै उत्पादन गरिरहेका छन्।’ थप २० भन्दा बढी उद्योग अहिले संकटमा पुगेको जनाउँदै राम्रोसँग सञ्चालन भएको भनिएका उद्योगको पनि अवस्था राम्रो नभएको उनको दाबी छ।

आफुहरुले औषधि उद्योगको अवस्था जटिल भएको भन्दै स्वास्थ्य, अर्थ र उद्योगमन्त्री एवं सरोकारवालासँग पटकपटक भनिसकेको उनको भनाइ छ। छिमेकी देशमा समय समयमा मूल्य समायोजन हुँदा यहाँ वर्षौँसम्म सरकारले ध्यान नदिएको उनको गुनासो छ। खोप, इन्सुलिनसहित केही औषधिबाहेक अरु सबै नेपालमा नै उत्पादन हुन्छन्।

यहाँ उत्पादन हुने औषधि विदेशबाट आयात रोकेमा ८० प्रतिशतभन्दा बढी नेपाली उत्पादनले धान्ने उत्पादकहरुको भनाइ छ। अहिले ५० प्रतिशत हाराहारी स्वदेशी औषधिको बजार छ। यो घट्दो क्रममा रहेको छ। नेपालमा उद्योग स्थापना गर्दा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सञ्चालनमा आएको हुँदा गुणस्तरमा विश्व बजारसँग प्रतिस्पर्धा गर्न सकिने उनले बताए।

यस्ता उद्योग स्थापना गर्दा एउटा उद्योगमा कम्तीमा ८० करोड लगानी हुने गरेको छ। जसमा ७० प्रतिशत हाराहारी बैंकको ऋण छ। विदेशी कम्पनीले नेपालमा आएर बोलपत्रमा सहभागी हुँदा त्यहाँको सरकारले अनुदानसमेत दिने गरेको प्रधान बताउँछन्। ‘अरु देशमा उद्योग प्रबद्र्धनका लागि राज्यका तर्फबाट सहयोग हुन्छ, हामीकोमा हुन सकेन’ उनले थपे।

विश्वमा सबैभन्दा सस्तो औषधि भारतमा उत्पादन हुने गर्दछ। त्यही मूल्यमा आफूहरुले उत्पादन गर्न तयार रहेको सरकारलाई भनिरहँदा पनि सुनुवाइ हुन नसकेको अध्यक्ष प्रधानले गुनासो छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij