ई–आर्थिक, काठमाडौं : महिला उद्यमीद्वारा उत्पादित बस्तुलाई प्रवर्द्धन र बजारीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा मेलाको आयोजना गर्दै आएको महिला उद्यमी महासंघ नेपाल (एफवीन) ले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको महिला उद्यमी व्यापार मेलाको आयोजना गरेको छ ।
यही चैत्र १४ देखि १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा गर्न लागिएको उक्त मेलामा ७२ वटा जिल्ला सङ्घहरूबाट महिला उद्यमीहरूको सहभागिता रहने जनाइएको छ ।
मेलाको बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा एफवीनकी अध्यक्ष शोभा ज्ञवालीले महिलाहरूले उत्पादन गरेका वस्तुको प्रवर्द्धन र बजारीकरण गर्न मेलाको आयोजना गरिएको जानकारी दिइन् ।
महिला उद्यमीहरूद्वारा उत्पादित बस्तुको प्रवर्द्धन र बजारीकरणमा सहयोग पुग्ने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा मेलाको आयोजना गर्दै आएको एफवीनले गर्न लागेको यो आठौं अन्तर्राष्ट्रियस्तरको मेला हो ।
मेला स्थलमा एक सय ४४ वटा बिक्री स्टल राखिने भएको छ । त्यस्तै दुई वटा प्याभिलियनहरु, ५८ वटा महिला उद्यमी जिल्ला संघबाट सहभागी हुने महिला उद्यमीहरु र ८२ वटा स्टलहरु स्वदेशी तथा विदेशी महिला उद्यमीहरुलाई उपलब्ध गराइने एफवीनकी अध्यक्ष ज्ञवालीले जानकारी दिइन् ।
मेला अवधिमा नेपालभर छरिएर रहेका महिला उद्यमीहरुले उत्पादन गरेको कृषिजन्य वस्तुहरु, हस्तकलाका सामग्रीहरु, खाद्यसामग्रीहरु, अन्तर्राष्ट्रिय वस्तुहरु, सेवामूलक वस्तु तथा सेवाहरुको प्रवर्द्धन तथा विक्री वितरण हुनेछ ।
व्यापार मेलाको माध्यमबाट ५ हजार ५ सयभन्दा बढी महिला उद्यमीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास लिइएको छ ।
मेला अवधिमा अन्तर्राष्ट्रिय क्षेत्रका महिला उद्यमीहरु र उनीहरुले उत्पादन सहितको सहभागिता हुने भएकाले नेपालका महिला उद्यमीहरुले उपयोग गरेका प्रविधिहरु, बजारीकरणको लागि अवलम्बन गरेका उपायहरुको बारेमा पनि जानकारी लिन सकिनेछ ।
मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा नेपाली महिला उद्यमीहरूका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न सहयोग पुग्ने विश्वास अध्यक्ष ज्ञवालीले लिइन् । अध्यक्ष ज्ञवालीले भनिन्, ‘महिला उद्यमशीलताको विकासबाट आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।’
महिला उद्यमीलाई हौसला र प्रोत्साहित गर्दै उनीहरुको उत्पादन प्रवर्द्धन र बजारीकरण गर्न एफवीनले अभियानकै रुपमा कार्य गर्दै आइरहेको छ ।
‘स्वदेशी खाऔं, स्वदेशी लगाऔँ र स्वदेशी उद्यमशीलतालाई प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गर्दै आएको एफवीनले जानकारी दिएको छ ।
महासङ्घले एक दशकदेखि निरन्तर रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आयोजना गर्दै आइरहेको छ ।
महासङ्घले महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सेवाहरुको प्रवर्द्धन तथा बजारीकरण गर्नका लागि २०२४ को डिसेम्बरमा अस्ट्रेलियाको मेलबर्न सहरमा ‘मेड इन नेपाल एक्स्पो’ आयोजना गरेको थियो ।
महिला उद्यमी महासंघ नेपाल नेपालका महिला उद्यमीहरुको केन्द्रीय छाता संस्था हो । महासंघमा देशभरका सयौं महिला उद्यमीहरु आबद्ध रहेका छन् । महिला उद्यमीहरुको अविभावक संस्थाको रुपमा कार्यरत महासंघप्रति गहिरो आस्था रहेको छ । त्यही भएर पनि उनीहरुद्वारा उत्पादित बस्तुको प्रवर्द्धन र बजारीकरणको लागि महासंघलाई नै माध्यम बनाउँदै आइरहेका छन् ।
महासंघले उनीहरुको उत्पादनको बजार प्रवर्द्धन र बजारीकरणका साथै महिला उद्यमीले भोग्दै आएका समस्यामा सरकारसँग बहस पैरबी गर्दै आएको छ ।