२०८३ साउन ११ सोमबार

दाताले दिएको जग्गा गाउँपालिका अध्यक्ष र कर्मचारीले ‘खाए’ !, कारवाहीको माग गर्दै अख्तियारमा उजुरी

ई आर्थिक    बुधबार, चैत्र ६ २०८१
12K
Shares
दाताले दिएको जग्गा गाउँपालिका अध्यक्ष र कर्मचारीले ‘खाए’ !, कारवाहीको माग गर्दै अख्तियारमा उजुरी

ई–आर्थिक, ओखलढुंगा । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका केन्द्रमा आवश्यक पूर्वाधार संरचना निर्माण गर्न स्थानीयले दिएको जग्गा गाउँपालिका अध्यक्ष र कर्मचारीले व्यक्तिका नाममा गरेको खुलेको छ ।

सो गाउँपालिका केन्द्रमा आवश्यक पूर्वधार संरचना निर्माण गर्न स्थानीयले दिएको जग्गा गाउँपालिका अध्यक्ष र कर्मचारीले आफ्नो नाममा बनाएको खुलेको हो ।

गाउँपालिका अध्यक्ष नवराज के.सी.ले गाउँपालिकाको लागि आवश्यक पूर्वधार संरचना निर्माण गर्न तत्काल जग्गा आवश्यक परेकोले जग्गा उपलब्ध गरिदिनको लागि स्थानीय ११ जनासँग अनुरोध गरेका र उनीहरुले गाउँपालिकालाई निःशुल्क जग्गा प्रदान गरेका थिए । अध्यक्ष केसीको अनुरोधलाई स्वीकार गरी सामान्य लेखपढ गर्नसम्म नजान्ने सोझा नागरिकहरुले गाउँपाालिकका केन्द्रलाई आवश्यक जग्गा उपलब्ध गराएका थिए । आफूहरुले २०७४/२०७५ सालमा जग्गा दिएको दाता मध्येका एकले जानकारी दिए ।

जग्गा दिएको एक दशक बित्न लााग्दा समेत उक्त जग्गामा गाउपालिकको पूर्वाधार संरचना निर्माण हुन नसक्दा स्थानीय सशंकित भएका थिए । उक्त जग्गामा के कति कारणले संरचना निर्माण हुन सकेन भनी सोधखोज गर्दा चम्पादेवी गाउँपालिका अध्यक्ष के.सी.ले बेवास्ता गरेको जग्गादाताहरुको भनाइ छ ।

गाउँपालिका केन्द्रको संरचना निर्माण गर्ने भन्दै पालिका अध्यक्ष नवराज के.सी.ले जगत लुइटेको कि.न. ९६४ बाट ७ रोपनी, तत्कालिन प्रमुख प्रसाशकिय अधिकृत भिम प्रसाद दाहालले सनक कुमार श्रेष्ठको कि.न. २०४ बाट ८ आना, तत्कालिन शिक्षा शाखा प्रमुख भवनाथ बरालले ललित बहादुर श्रेष्ठबाट कि.न. २०२ बाट १ रोपनी, जगत बहादुर लुइटेलले जानुका श्रेष्ठको कि.न. ६४० बाट १ रोपनी, तत्कालिन सूचना अधिकारी भविमाया दाहालले नरबहादुर श्रेष्ठको कि.न. ६३६ बाट ८ आना जमिन जालसाजी गरेर आफ्नो नाममा गरेको दाताहरुको भनाइ छ ।

चेत नारायण श्रेष्ठ, मेख बहादुर श्रेष्ठ, सनक बहादुर श्रेष्ठ, नर बहादुर श्रेष्ठ, पातली माया तामाङ, मोतिलाल तामाङ, बिर बहादुर तामाङ, ठनमाया श्रेष्ठ, शेर वहादुर तामाङ, शेख बहादुर श्रेष्ठ, जमुनी माया श्रेष्ठ र जमुना श्रेष्ठले गाउँपालिकालाई जग्गा दान दिएका थिए ।

साविक कालिका गाविस अध्यक्ष जगत लुइटेलको योजनामा सामान्य लेखपढ गर्न सम्म नजान्ने सोझा नागरिकलाई झुक्याएर किर्ते जालसाजी गरेको र सोही योजना सफल भएबापत साविक पलापु गविस वडा नं ८ नवलपुरको कित्ता नं. ९६४ बाट कित्ताकाटको ७ रोपनी जग्गा जगत लुइटेलबाट गाउँपालिका अध्यक्ष केसीले घुसस्वरुप लिएको दाताहरुले दाबी गरेका छन् । सार्वजनिक पदमा बसी सोही पदको आडमा सोझा नागरिकलाई प्रभावमा पारी झुक्याई किर्ते जालसाजी र अख्तियार दुरुपयोग गरी गाउँपालिकाको सार्वजानिक प्रयोजनका लागि भनी लिएको जग्गा ४ जना व्यक्तीले व्यक्तीगत कायम गरी भ्रष्टाचारजन्य कार्य गरेकोले उनीहरुलाई छानविन गरी प्रचलित कानूनबमोजिम हदैसम्मको कारवाही गरिपाउँ भनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन दिएको अर्का दाताले बताए ।

दाताले दिएको जग्गामा आँखा लगाउने जनप्रतिनिधि र कर्मचारीलाई अख्तियारले कारवाही गर्नेमा उनीहरु विश्वस्त रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij