२०८३ साउन १२ मंगलबार

महिलालाई उद्यमशीलता प्रर्वद्धन गर्दै टेम्केमैयुङ गाउँपालिका

ई आर्थिक    शनिबार, फाल्गुन २४ २०८१
6.3K
Shares
महिलालाई उद्यमशीलता प्रर्वद्धन गर्दै टेम्केमैयुङ गाउँपालिका

ई-आर्थिक, भोजपुर ।  टेम्केमैयुङ गाउँपालिकाले महिलालाई उद्यमशीलतासँगै आत्मनिर्भर बनाउन सीपमूलक कार्यक्रममा जोड दिएको छ। गृहणी भएर घरायसी काममा मात्र समय बिताउँदै आएका महिलालाई सीप प्रदान गरेर उद्यममा जोडिन उत्प्रेरित गरेको हो।

गाउँपालिकाले अचार बनाउने, ढाका कपडा बुनाइ, सिलाइ कटाइ, महिला लक्षित बेमौसमी तरकारीखेतीलगायत महिला लक्षित सीपमूलक कार्यक्रम सञ्चालन गरेर आवश्यक सीप प्रदान गरिरहेको छ।

महिलालाई आत्मभिर्नरसँगै व्यावसायिक बनाउनका लागि ‘महिला लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीपमूलक तालिम प्रदान गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। महिलालाई आवश्यकताका आधारमा सीप प्रदान गरिएको उनको भनाइ छ। सीप लिएर व्यवसायमा लाग्न चाहने महिलालाई गाउँपालिकाले आवश्यक प्रोत्साहनका कार्यक्रमसमेत सञ्चालन गरिरहेको उपाध्यक्ष राईले बताइन्।

गाउँघरमा पाउने कच्चा पदार्थको सदुपयोग गर्दै महिलालाई व्यावसायिकसँगै उद्यमशील बनाउन २७ महिलालाई अचार बनाउने सीप प्रदान गरिएको उनले जानकारी दिइन्। ‘महिलालाई स्वरोजगारसँगै उद्यमी बन्ने खालका कार्यक्रममा जोड दिएका छौँ’, उपाध्यक्ष राईले भनिन्, ‘सीप जीवन गुजारा गर्ने सबैभन्दा ठूलो माध्यम हो, गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउने खालका सीपमूलक कार्यक्रमलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ, व्यावसायिक रुपमा अचार बनाएर जीविकोपार्जन गर्नसक्ने वातावरण निर्माणका लागि तालिम दिएका हौँ।’

बाहिरबाट विषेशज्ञ प्रशिक्षक ल्याएर गाउँपालिकाभित्रका नौवटै वडाका महिलालाई अचार बनाउने तालिम दिइएको हो। आफ्नै ठाउँमा दक्ष प्रशिक्षकबाट सीप लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ-४ नागिकी सम्झना राईले बताइन्। सात दिनसम्म सहभागी भएर लिएको सीपले व्यावसायिक रुपमा अचार बनाएर आत्मनिर्भर बन्न सहयोग पुगेको उनको भनाइ छ।

सीप लिएसँगै भावी दिनमा समूह निर्माण गरेर व्यावसायिक अचार उद्योग सञ्चालन गर्ने सोच बनाएको उनले बताइन्। ‘आफ्नै ठाउँमा सीप लिन पाउँदा खुसी लागेको छ’, उनले भनिन्, ‘सीप नहुँदा घरायसी काममा समय बितिरहेको थियो, सीप भएपछि आफ्नै ठाउँमा पाउने विभिन्न कच्चा पदार्थबाट अचार बनाएर राम्रो आम्दानी लिन सकिने रहेछ, सिकेको सीपलाई व्यवहारमा ल्याएर काम गर्ने मेरो लक्ष्य छ।’

सातदिने अचार बनाउने तालिम लिएपछि व्यावसायिक बन्न साहस बढेको स्थानीय क्षमादेवी राईले बताइन्। तालिम लिएपछि गाउँघरमा सहजैरुपमा पाउने कच्चा पदार्थबाट कसरी आयआर्जन गर्न सकिने रहेछ भन्ने ज्ञान पाएको उनको भनाइ छ। ‘तालिमबाट जीवन उपयोगी सीप लिने अवसर मिल्यो’, उनले भनिन्, ‘सीप नभएर नै हामी व्यावसायिक बन्न नसकेका रहेछौँ, सीपलाई सदुपयोग गर्नसकेमा घर खर्च चलाउन समस्या नहुने रहेछ।’

सीप लिन इच्छुक महिलालाई गाउँघरमा पाउने कच्चा पदार्थ अमला, अकबरे खुर्सानी, तामा, लप्सीलगायतका ११ प्रकारका अचार बनाउने सीप प्रदान गरिएको प्रशिक्षक सकुन्तला प्याकुरेलले बताइन्। तालिमका सहभागी महिलाले गाउँघरमा नै पाउने कच्चापदार्थबाट व्यावसायिक रुपमा अचार उद्योग सञ्चालन गरेर आत्मनिर्भर बन्नसक्ने उनको भनाइ छ।

झापामा अचारको उद्योग सञ्चालन गरिरहेकाले यहाँ उद्योग सञ्चालन भएका खण्डमा त्यसको बजारीकरणमा आफूले सहयोग गर्ने उनले बताइन्। ‘सीपले हामीलाई व्यावसायिकसँगै आत्मानिर्भर बनाउन मद्दत गर्दछ’, उनले भनिन्, ‘व्यावसायिक रुपमा अचार उद्योग सञ्चालन गरेर पनि राम्रो आम्दानी लिन सकिन्छ, यहाँ अचारका लागि कच्चा पदार्थ अभाव छैन, गाउँघरमा पाउने सामग्रीलाई थोरै मेहतन गरेर आम्दानीको स्रोत बनाउन सकिन्छ, मैले यहाँका सहभागी महिलालाई स्थानीयस्तरमा पाउने सामग्रीबाट ११ प्रकारका अचारसँगै अदुवा, अमलाबाट क्यान्डी बनाउने सीप दिएकी छु।’

अचार राम्रो ढंगले भण्डारण तथा प्याकेजिङ र ब्रान्डिङ गर्न सकेका खण्डमा देश तथा विदेशसम्म निर्यात गर्न सकिने उनको भनाइ छ। बजारमा अचारको माग राम्रो रहेको उनले बताइन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij