२०८३ साउन ११ सोमबार

जुम्लामा हिमपात, किसानलाई राहत

ई आर्थिक    शनिबार, फाल्गुन १७ २०८१
5.8K
Shares
जुम्लामा हिमपात, किसानलाई राहत

ई-आर्थिक, जुम्ला । जुम्लामा शुक्रबार बिहानैदेखि हिमपात र वर्षा हुँदा यहाँका किसानलाई राहत पुगेको छ।

हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ र वर्षा भएको हो। उच्च ठाउँमा एक फिट जति हिउँ परेको पातारासी गाउँपालिका-१ का स्थानीयवासी मुनबहादुर एडीले जानकारी दिए।

ढिलोगरी वर्षासँगै भएको हिमपातपछि आकाशे पानीको पर्खाइमा रहेका किसान भने खुसी भएका छन्। गत असोजदेखि पानी नपर्दा हिउँदे बाली सुक्दै गएका थिए।

जिल्लाका आठवटै स्थानीय तहमा धेरैजसो ठाउँमा सिँचाइको अभाव छ। जहाँ किसानले आकाशे वर्षात्का भरमा जौ, गहुँबाली लगाउने गर्छन्। हिमपातका कारण जौ, गहुँलगायत नयाँ स्याउका बिरुवा लगाउन निकै सहज भएको हिमा गाउँपालिका-६ का स्थानीय किसान दुर्गा शाहीले बताए।

जिल्लामा स्याउ र ओखरका बिरुवा रोप्ने याम आएकाले हिमपातका कारण सहज भएको कृषि विकास कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीले बताए। जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएसँगै हवाई सेवा अवरुद्ध भएको छ।

साथै सदरमुकाम खलंगा बजारबाट चल्ने लामो तथा छोटा दुरीका सवारीसाधन फाट्टफुट्ट चलेको तिला कर्णाली यातायातले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij