ई–आर्थिक, काठमाडौं । सरकारले सुपारी, केराउ र मरीचको परिमाणात्मक बन्देज हटाएपछि योसँग सम्बन्धित उद्योगीहरुलाई राहत मिल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर आयातको अनुमति दिएको हो । यसअघि प्रतिबन्धित ती सामान ठूलो मात्रामा हुने गरेको थियो । केही उद्योगीले त सीमापारी भण्डारण समेत खोलेर राखिएको थियो । योसँगै अबैध हुने गरेको आयत रोकिन्छ कि रोकिन्न प्रतिक्षाको विषय भएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा औद्योगिक प्रयोजनका लागि केराउ, सुपारी र सेतो तथा कालो मरीच आयातमा लगाइएको प्रतिबन्ध हटाइएको मन्त्रालयले जनाएको छ ।
सुपारी, केराउ, मरीच र छोकडाको तस्करी बढेपछि सरकारले २०७६ चैत २४ गते वस्तु पैठारीमा बन्देज लगाएको थियो । व्यवसायीको मागका आधारमा आयातमा लगाइएको बन्देज हटाइएको हो ।
उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा केराउ, सुपारी र मरीच आयातका लागि अनुमति दिइएको हो । उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थको परिमाण यकिन गरी केराउ, सुपारी र मरीच आयातका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिफारिस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
कोभिड–१९ महामारी बढेका बेला विदेशी विनिमय सञ्चिति बढाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले आयातमा बन्देज लगाउनुभएको थियो । अर्थतन्त्र चलायमान हुन थालेपछि २०७७ चैत ९ मा राजपत्रमा सूचना प्रकाशन गरेर पूर्ण बन्देज हटाएर परिमाणात्मक बन्देज लगाइएको थियो । त्यसपछि ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरीच पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८’ बनाएर आयात अनुमति दिइएको थियो ।