ई-आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा वृद्धि गरेको छ भने डिजेल र मट्टितेलको मूल्यमा गिरावट आएको छ। शनिबार निगमले जारी गरेको विज्ञप्तीमा पेट्रोलको मूल्यमा १ रुपैयाँको वृद्धि र डिजेल र मट्टितेलको मूल्यमा ४ रुपैयाँको कमी भएको जानकारी दिइएको छ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो वर्गका स्थानमा १६५.४० रुपैयाँ, दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गमा १६८ रुपैयाँ पुग्नेछ। डिजेल र मट्टितेलको नयाँ मूल्य भने पहिलो वर्गमा १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ हुनेछ।
पहिलो वर्गका स्थानमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
निगमले हर १५ दिनमा इण्डियन आयल कर्पोरेशनबाट आएको मूल्यसूचीको आधारमा मूल्य समायोजन गर्दै आएको छ।